काठमाडौं, २८ कार्तिक । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछी हत्या भएको प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याललाई आज प्रहरीले पक्राउ गरेको छ ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले पक्राउ गरेको प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताउनुभयो । गलत विवरणसहित दुष्प्रचार गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बोगटीका अनुसार उहाँले टेलिभिजनमा दाबी गरेका सबै विवरण झुठा भएको भन्दै सोधपुछका लागि नियन्त्रणमा लिएको हो । उनले आफूलाई खानेपानी विभागको सवारी चालकका रुपमा चिनाएका थिए ।
त्यसक्रममा कञ्चनपुर पुगेको बेला निर्मलाको बलात्कार हुँदै गरेको देखेको विवरण उहाँले अन्तर्वार्तामा सुनाएका थिए । अन्तर्वार्ता दिने टेलिभिजन कार्यक्रम प्रस्तोता ऋषि धमलालाई पनि सीआईबीले कार्यालयमा बोलाएको छ ।