काठमाडौ, ९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजनन स्थल नष्ट गर्ने अभियान देशव्यापी चलाउन आग्रह गर्नुभएको छ । हिजो साँझ एक सन्देश जारी गर्दै उहाँले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियानलाई हप्ताको एक पटक सञ्चालन गर्न सम्बन्धित निकायहरूसँग अनुरोध गर्नुभयो ।
डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको लामखुट्टेको प्रजननस्थल पानी जम्ने ठाउँको खोजी, लाम्खुट्टेका लार्भा, प्युपा नष्ट गर्ने कामलाई कम्तीमा हप्ताको एक पटक सरसफाइमा लाग्न उहाँले सबैसँग अनुरोध गर्नुभयो । जसअनुसार हरेक शुक्रबार १० बजेर १० मिनेट सरसफाइमा जुट्न सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियान्ताहरूका साथै सम्पूर्ण आमनागरिकसमेतको सहभागिताका लागि उहाँले अपील गर्नुभयो ।
गत पुस मध्येदेखि हालसम्म झण्डै १० महिनाको अवधिमा हुम्लाबाहेकका सबै जिल्लामा डेङ्गी फैलिएको छ । हालसम्म २२ हजार ८२ जनामा डेङ्गी पुष्टि हुँदा ११ जनाको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेङ्गी सङ्क्रमित लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले लामखुट्टेको टोकाइबाट बच्न डाक्टरहरूले सुझाव दिँदै आएका छन् ।