काठमाडौं, १९ असोज । अमेरिकास्थित नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा भएको गोलाबारीमा सबै नेपाली सुरक्षित रहेको बताएको छ ।
बुधबार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाटेमालाको सिमानामा मेक्सिकोको सेनाले गोली चलाएको थियो । गोलाबारीमा ६ जना मारिएको मिडिया रिपोर्टहरूले सार्वजनिक गरेको थियो ।
शनिबार वक्तव्य जारी गर्दै अमेरिकास्थित नेपाली दूतावासले ट्रकमा सवार सवै नेपाली सुरक्षित रहेको जनाएको हो । दूतावासका अनुसार ट्रकमा ११ जना नेपाली सवार रहेको र अहिले उनीहरू सबै मेक्सिको प्रहरीको हिरासतमा छन् ।
ुसबै ११ नेपाली नागरिक अहिले मेक्सिकोको अध्यागमन कार्यालयको हिरासतमा छन् । नेपालीहरू कोही पनि मारिएका छैनन्,ु शनिबार दूतावासले जारी गरेको वक्तव्यमा भनिएको छ ।
आप्रवासी सवार ट्रकमा मेक्सिको प्रहरीले अन्धाधुन्ध गोली चलाएको भन्ने खबरहरू सार्वजनिक भएपछि दूतावासले त्यसमा ध्यानाकर्षण भएको पनि बताएको छ ।
बुधबार मेक्सिको सेनाले चियपसस्थित हुक्स्लामा नेपालीसहित ३३ जना आप्रवासी बोकेको ट्रकमा गोली चलाएको थियो । घटनमा ६ जना मारिएको भनिएपनि मारिनेहरू कुन देशका हुन् भन्ने सार्वजनिक भएको छैन । अरू१२ जना घाइतेसमेत भएका थिए । सेनाले ट्रकसँगै आइरहेका बाँकी दुई सवारी साधनबाट गोली चलेको आवाज सुनेकोले तत्काल जवाफ फर्काएको स्पष्टीकरणमा भनेको थियो ।
यद्यपि ट्रकमा हतियार भेटिएको नभेटिएको भन्नेबारेमा भने मेक्सिकोको रक्षा विभागले कुनैपनि विषय सार्वजनिक गरेको छैन । अवैध बाटोबाट अमेरिका छिर्नेहरूले धेरैजसो उक्त रूट प्रयोग गर्ने गरेको बताइन्छ ।
त्यही बाटो हुँदै अवैध वस्तु तस्करी हुने गरेको र त्यसमा आप्रवासीहरूलाई समेत प्रयोग गर्ने गरेको भेटिने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरूले जनाएका छन् । आप्रवासी सवार गाडीमाथि गोली चलेको यो पहिलो घटना भने होइन । यसअघि सन् २०२१ मा पनि सोही ठाउँमा सेनाले आप्रवासी सवार ट्रकमा गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए । बुधबारको घटनामा अनुसन्धान भइरहेको र आप्रवासीहरुबारे पनि छानबिन भइरहेको मेक्सिको रक्षा विभागले जनाएको छ।