काठमाडौं, १४ असोज । पृथ्वी राजमार्गअन्र्तगत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय ७ सवारीसाधन काठमाडौं उपत्यका भित्रिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले आइतबार साझँदेखि झ्याप्लेमा अवरुद्ध सडक खुलेयता अलपत्र यात्रुहरूसहित लिएर सयौं सवारीसाधन काठमाडौं भित्रिएको जानकारी दिनुभयो ।
त्यसैगरी सोमबार दिउँसोपछि काठमाडौंबाट पनि सो राजमार्ग भएर सवारीसाधन पठाउने तयारीमा प्रहरी खटिएको प्रवक्ता तिवारीले बताउनुभयो ।
आजबाट उपत्कायबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरनेछन्,उहाँले भन्नुभयो,मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसित समन्वय गरेर अघि बढेको छ ।
त्यसैगरी सोमबार दिउँसो गृहमन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक समेत बसेको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढी, पहिरो, डुबान तथा विपद्मा भइरहेको उद्दार,राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराएका छन् ।
आज साझँसम्म काभ्रेपलान्चोकको बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्दार भइसक्छ , प्रवक्ता तिवारीले भन्नुभयो,अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्दारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्दार निरन्तर गरिरहेको छ ।
प्रवक्ता तिवारीले मौसम पूर्णरुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सावधानी अप्नाउनुपर्नेमा जोड दिए। विस्तारै सडक खुल्ने र खुलाउने क्रममा छ,उनले भने,अझै पहिरो लगायत जोखिम टरिसकेको छैन् ।
अवरुद्ध सडक सुचारु गर्न सरोकारवाल निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको छ । रोशीलगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै घाइतेहरूको उद्दार गरी विभिन्न अस्पतालमा निःशुल्क उपचार भइरहेको छ ।