गोरखा १४ असोज ः नागढुङ्गास्थित झ्याप्ले खोलाको पहिरोमा परी ज्यान गुमाएका मध्ये गोरखाका ४ जनाको शव आज गोरखा ल्याइने भएको छ । राजधानीको शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सकिएकोले अन्त्येष्टीका लािग शव गोरखा ल्याउन लागिएको हो ।
गोरखाको लापुबेशीबाट काठमाडौंका लागि छुटेको ४ ख २२७० नम्बरको यात्रुबाहक बस शुक्रबार राती १० बजे पहिरोमा परेको थियो । बसमा सवार ५ जना मध्ये ४ जनाको मात्र सनाखत भएकोले उनीको शव गोरखा ल्याउन लागिएको गोरखा दरौँदी यातायात सेवा कम्पनी प्रालिका सञ्चालक समितिका सदस्य गणेश बानियाँले जानकारी दिनुभयो ।
उक्त बसमा सवार मध्ये बसका चालक तथा सवारी धनी भिमसेन थापा गाउँपालिका–४ धावाका मदन परियार, सह चालक गण्डकी गाउँपालिका–५ दर्बुङका नवराज तिवारी, सोही स्थानका विनय भट्टराई र धार्चे गाउँपालिका–७ खानिगाउँका चुकबहादुर गुरुङको शव दिउँसो गोरखा ल्याउने उहाँको भनाई छ ।
सोही बसमा सवार अन्य ब्यत्तीको पहिचानमा समस्या देखिएपछी ४ जनाको शव मात्र गोरखा ल्याउन लागिएको हो । अर्का ब्यक्ति पनि गोरखाकै हुनसक्ने अनुमान गरिएको छ ।
शव धादिङको बाटो हुदैँ आरुघाट ल्याएर गुरुङको शव उत्तरी गोरखा पठाउने तयारी भएको पनि प्रालिका बानियाँले जानकारी दिनुभयो । चालक, सहचालक र अन्य ब्यक्तिको शव पनि उनीहरुकै घरसम्म लैजाने गरी ब्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।
पहिचान खुल्न नसकेको अर्का व्यक्ति मृतक चुकबहादुर गुरुङको सम्पर्कमा मुग्लिनबाट बसमा चढेको अनुमान गरिएको छ ।