गोरखा, १२ असोज : अविरल बर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीनवटा झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ ।
गोरखा र धादिङ्ग तथा गोरखा चितवन जोड्ने त्रिशूली नदी माथिका बिभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा बाढीले क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बाढीले आज विहान गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीस्थित कुरिनटार जोड्ने झोलुङ्गे पुल बगाएको उहाँले बताउनुभयो । बाढीले पुलको गोरखातर्फको पिल्लरको भाग उप्काएर बगाएको हो ।
सोही नदीमा आएको बाढीका कारण थप तीनवटा पुल बाढीको उच्च जोखिममा परेको डिएसपी श्रेष्ठको भनाई छ । बाढीका कारण गोरखाको सहिद लखन गाउँपालिका–३, सिलिङ्ग र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा परेको छ ।
त्यस्तै गोरखाको गण्डकी गाउँपालिका–७, धवादीघाट र धादिङ्गको बेनीघाट रोराङ्ग गाउँपालिका–६ स्थित हिक्लुङ्गमा रहेको झोलुङ्गे पुल पनि बाढीको जोखिममा परेको उहाँले बताउनुभयो । उक्त झोलुङ्गे पुल गतबर्ष पनि बाढीले क्षति पु¥याएपछि भर्खरै मात्र मर्मतसम्हार गरिएको थियो ।
सोही ठाउँमा रहेको अर्को एक झोलुङ्गे पुल समेत बाढीको उच्च जोखिममा रहेको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । बाढीको जोखिममा रहेका सवै पुलबाट अहिले आवातजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ ।