काठमाडौं, ३१ भदौ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली विदेश जाने विषय सदनलाई जानकारी गराउँदा अवरोध नगर्ने बताउनुभएको छ ।
सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले संसद बैठक चल्न दिने बताएका हुन् । ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं। तर प्रम विदेश जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौं। सभामुखको विरोधमा छैनौं। हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं,’ उहाँले बैठकमा भन्नुभयो ।
प्रधानमन्त्री ओली यही असोज ४ गते संयुक्त राष्ट्रसंघको ७९ औं म हासभामा भाग लिन अमेरिका जाँदैछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा त्यहाँ राख्ने एजेन्डाबारे सदनलाई सूसूचित गराउने प्रचलन रहेकाले त्यसलाई अवरोध गर्न नहुने निष्कर्षमा पुगेको माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल राजनले पनि बताउनुभयो ।
‘संयुक्त राष्ट्रसंघको महासभामा जाँदा सदनलाई जानकारी गराउने हाम्रो निष्कर्ष छ,’ उहाँले भन्नुभभयो ।
गत भदौ १२ गते संसदमा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘जनयुद्ध’लाई हिंसाको संज्ञा दिएका थिए । त्यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ध्यानाकर्षण भएको बताउँदै संसदको अभिलेखबाट हटाउन माग गरेका थिए । त्यसमाथि निर्णय गर्दै सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नरहेको बताएपछि माओवादीले संसद अवरूद्ध गर्दै आएको छ ।