गोरखा, २७ भदौ । विदेश जान हिडेका गोरखाका एक युवकलाई प्रहरीले बहुविवाहको आरोपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको छ ।
आरुघाट गाउँपलिका–६,आप्रिकका घर भएका २८ बर्षीय सुरज गुरुङलाई बहुविवाहको आरोपमा पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘‘सुरजकी जेठी श्रीमती रिता गुरुङले यहीँ भदौ २३ गते जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको जाहेरी दर्ता गर्नुभएको थियो, उहाँले भन्नुभयो, ‘‘लगत्तै विदेश जान लागेको थाहा पाएपछि अध्यागमन कार्यालय तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयसंग आवश्यक समन्वय गरी अनुसन्धानका लागि उहाँलाई पक्राउ गरिएको हो ।’’
कसुरबाट भाग्न सुरज बैदेशिक रोजगारीका लागि कतार जान लागेको प्रहरीले सूचना पाएपछि आवश्यक समन्वय गरी विमानस्थलबाटै पक्राउ गरिएको डिएसपी श्रेष्ठको भनाई छ ।
सुरजकी जेठी श्रीमती रिताले आफु हुँदाहुँदै श्रीमानले कान्छी घताने गुरुङसंग वहुविवाह गरेकोभन्दै प्रहरीमा बहुविवाहको जाहेरी दिनुभएको थियो । ‘‘उजुरी पर्ने वित्तिकै गएको सोमबार जिल्ला अदालत गोरखाबाट पक्राउका लागि अनुमति लिएर सोही दिन पक्राउ गरेर गोरखा ल्याइएको हो, डिएसपी श्रेष्ठले भन्नुभयो, ‘‘उहाँलाई विहिबार अदालतबाट अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको छ ।