गोरखा, २७ भदौ ः गोरखाको सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँ र आसपासका स्थानीयबासीको आस्थाको केन्द्रको रुपमा चिनिने ऐतिहासिक राधाकृष्ण मन्दिरको पुनःनिर्माण सम्पन्न भएको छ ।
गाउँपालिका आर्थिक सहयोग र स्थानीयबासीको जनश्रमदानमा मन्दिर निर्माणको काम सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिका संयोजक शिवचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
मन्दिर निर्माणका लागि गाउँपालिकाले रु १० लाख बिनियोजन गरेको थियो । त्यसवाहेक मन्दिर वरपरको संरचना बनाउन स्थानीय युवाहरु मिलेर चन्दा संकलन तथा जनश्रमदान गरेको उहाँले बताउनुभयो ।
‘‘अहिलेसम्म चार लाख रुपैया भन्दाबढी चन्दा सहयोग संकलन समेत भइसकेको छ, उहाँले भन्नुभयो, ‘‘संकलित रकमले मन्दिरका लागि मूर्ति खरीद, मन्दिर व्यवस्थापनका लागि खर्च गर्ने योजना छ ।’’
ऐतिहासिक तथा बिशेष धार्मिक महत्व वोकेको उक्त राधाकृष्ण मन्दिर फौजर गाउँका बासिन्दाको मुख्य धार्मिक आस्थाको केन्द्रको रुपमा लिइने गरिन्छ । मन्दिर निर्माण सम्पन्न भएसंगै स्थानीयबासीहरु खुशी भएका छन् ।
‘‘पुनःनिर्माण गरिएको मन्दिर यस क्षेत्रको अहिलेसम्मकै पुरानो सवैभन्दा पुरानो मन्दिर हो, उहाँले भन्नुभयो, ‘‘ मन्दिर पुनःनिर्माण नुहँदा धार्मिक अनुष्ठान एवं पुजाआजाका लागि हामीलाई समस्या हुँदै आएको थियो, अव सजिलो भएको छ ।’’