गोरखा, २६ भदौ ः गोरखाको सहिद लखन गाउँपालिकाले पालिका भित्रका अपाङ्गता भएका व्यक्तिलाई घरघरमै पुगेर अपाङ्गता परिचय वितरण तथा नवीकरण गरेको छ ।
गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको सहजताका लागि चिकित्सकसहित कर्मचारी र जनप्रतिनिधि परिचालन गरी अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण गरेको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।
‘‘अपाङ्गता भएका कोहीपनि व्यक्ति परिचत्र पत्र बनाउन नसकेर राज्यले प्रदान गर्दै आएको सेवा सुविधाबाट बन्चित हुन नपरोस् भन्ने उद्देस्य गाउँपालिकाको हो, उहाँले भन्नुभयो, ‘‘पालिकाले चिकित्सक र आवश्यक जनशक्ति परिचालन गरेर अपाङ्गता भएका व्यक्तिका घरघरमा पुगेर सवै प्रक्रिया पूरा गरी परिचय पत्र वितरण गरेको हो ।’’
परिचय पत्र वितरणका लागि गोरखा अस्पतालका मेडिकल अफिसर सन्तोष सिटौलासहित गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विरेन्द्र श्रेष्ठलगायतको टोली अपाङ्गता भएका व्यक्तिको घरघरमा पुगेका थिए । ‘‘अपाङ्गता परिचय पत्र दिन मेडिकल रिर्पोट अनिवार्य हुन्छ, उपाध्यक्ष तिवारीले भन्नुभयो, ‘‘त्यसका लागि चिकित्सक समेत घरघरमै पठाइएको हो । ’’
सो क्रममा पालिका भित्रका २ सय ३३ जना अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । जसमा परिचय पत्र नभएका थप ९ जनालाई नयाँ अपाङ्गता परिचयपत्र वितरण गरिएको छ भने २ सय २४ जनाको अपाङ्गता परिचय पत्र नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।
नयाँ अपाङ्गता परिचय पत्र वितरण गरिएकाहरुमा वडा नम्बर २, ४, ५, ६, ८ र ९ का रहेको उहाँले बताउनुभयो । पालिकाले यहीँ भदौ २० गतेदेखि २४ गतेसम्म घर तथा टोलटोलमा पुगेर अपांगता परिचय पत्र वितरण तथा नवीकरणको काम सम्पन्न गरेको हो । घरमै परिचयपत्र नवीकरण तथा नयाँ परिचयपत्र प्राप्त गरेपछि लाभग्राही पनि खुशी भएका छन् ।