गोरखा, २१ भदौ । गोरखाको सहिद लखन गाउँपालिका–७, बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै, आयआर्जन गर्न समेत सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा अचार बनाउने सिकाएर आयआर्जनसंग जोड्न थालिएको विद्यालयका शिक्षक एवं सिक्दै कमाउदै कार्यक्रमका संयोजक अनुपबाबु श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयले पहिलो चरणमा विद्यार्थीलाई पढ्दै, कमाउन सिकाउनका लागि विद्यालय हाता भित्र रहेको लप्सीको अचार उत्पादन गर्न सुरु गरेको उहाँको भनाई छ । ‘‘कम्पाउण्ड भित्रै लप्सी लटरम्मै फलेर खेर गइरहेको थियो, उहाँले भन्नुभयो, ‘‘त्यसैलाई उपयोग गर्दै विद्यार्थीले अचार उत्पादन थालेका छन्, त्यसले राम्रो प्रभाव पनि पारेको छ ।’’उत्पादित लप्सीको अचार प्रतिवट्टा १ सय ५० रुपैयामा बिक्री भइरहेको संयोजक श्रेष्ठको भनाई छ । ‘‘भर्खरै मात्र उत्पादन सुरु गरिएको हो, उहाँले भन्नुभयो, ‘‘राम्रो पनि भइरहेको छ, विद्यालयकै जग्गामा आँपका रुखहरु समेत प्रसस्त भएकाले अव सिजन अनुसार आँपलगायतको पनि अचार उत्पादन गर्न थाल्ने विद्यालयको योजना छ ।’’
उहाँले विद्यालयले थालनी गरेको कामले बालबालिकामा स्थानीयस्तरमा उत्पादित तर खेर गइरहेको कृषि उत्पादनबाट पनि राम्रो आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश पुगेको बताउनुभयो । उत्पादित अचार सहजै बिक्री भइरहेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । विद्यालयले तत्कालका लागि अचार बनाउन लाग्ने खर्च र सामानको मूल्याङ्कन गरेर अचारको मूल्य निर्धारण गरी बिक्री गर्न थालेको छ ।
‘‘उत्पादन गर्न सके बिक्छ भन्ने पनि लागेको छ, एउटै व्यक्तिले १५ वट्टासम्म अर्डर गर्दा एक बट्टा दिनपनि सकिएन, संयोजक श्रेष्ठले भन्नुभयो, ‘‘अहिले त विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई पनि पु¥याउन गाह्रो छ ।’’ अचार उत्पादन गर्न आठकक्षादेखि १२ कक्षासम्म विद्यार्थीलाई सिकाउन थालिएको उहाँले बताउनुभयो । उत्पादित अचारमा विद्यालयले आफ्नो विद्यालयको स्टिकर टाँसेर बिक्री गरिरहेको उहाँले बताउनुभयो ।