गोरखा, २१ भदौ ः लगातारको भीषण बर्षापछि गएको पहिरोले गोरखा–आँबुखैरेनी सडक अबरुद्ध भएको छ ।
उक्त सडखण्ड अन्र्तगत पर्ने गोरखा नगरपालिका–१३ मझुवाँस्थित ७ किलो भन्ने ठाउँमा सडकमा माथिबाट पहिरो खसेर अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
विहान करिब ७ः ३० बजे सडकमा पहिरो खसेको उहाँले बताउनुभयो । पहिरोले दुईतर्फी नै सडक अबरुद्ध भएको डिएसपी श्रेष्ठको भनाई छ । पहिरो पन्छाउनका लागि जेसिवी परिचालन भइसकेको उहाँले बताउनुभयो ।
सोही सडकखण्ड अन्र्तगत पर्ने गोरखा नगरपालिका–८ स्थित सल्यान धारा नजिकै पनि पहिरोले सडक अबरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपत् व्यवस्थापन शाखाका प्रमुख धुव्र घिमिरेले जानकारी दिनुभयो ।
‘त्यसवाहेक ठाउँठाउँमा साना पहिरो गएका छन्, उहाँले भन्नुभयो,‘‘सल्यान धारा नजिकैको पहिरो एकतर्फी खुलेपनि दुईतर्फी खुलाउने प्रयास भइरहेको छ ।’’ सडक अबरुद्ध हुँदा गोरखा सदरमुकामबाट राजधानी काठमाण्डौ,पोखरा चितवनलगायतका शहरबाट जानेआउने सवारी साधन रोकिएका छन् । फाइल फोटो