Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

समुद्रमा खस्यो भारतीय कोस्ट गार्डको हेलिकप्टर, ३ जना बेपत्ता


924
Shares

समुद्रमा खस्यो भारतीय कोस्ट गार्डको हेलिकप्टर, ३ जना बेपत्ता

गुजरात, १८ भदौ । भारतीय कोस्ट गार्ड आईसीजीको एक उन्नत लाइट हेलिकप्टर ध्रुव गुजरातको पोरबन्दर तटनजिक अरब सागरमा खसेको छ। हेलिकप्टरमा रहेका ४ जना चालक दलका सदस्यमध्ये ३ जना बेपत्ता छन् । एकजनाको उद्धार गरिएको छ ।

हेलिकप्टरको भग्नावशेष फेला परेको छ । घटना सोमबार भएको हो। आईसीजी ले मंगलबार बिहान सोशल मिडिया प्लेटफर्म एक्समा दुर्घटनाको बारेमा जानकारी गराएको हो ।

अधिकारीहरूका अनुसार हेलिकप्टर पोरबन्दर तटबाट ४५ किलोमिटर टाढा एक कार्गो जहाजमा उद्धार अभियानको लागि गएको थियो। हेलिकप्टरमा २ जना पाइलट र २ गोताखोर सवार थिए । जसमध्ये १ जना गोताखोरको उद्धार गरिएको छ ।

गार्डले दुई पाइलट र एक गोताखोरको खोजीका लागि ४ जहाज र २ वटा विमान पठाएको बताएको छ । हेलिकप्टरले हालै गुजरातको बाढी प्रभावित क्षेत्रबाट ६७ जनालाई उद्धार गरेको थियो।

कोस्ट गार्डका अनुसार कार्गो जहाज हरिलीलाका चालक दलका सदस्य घाइते भएका छन् । उनलाई उद्धार गर्न सोमबार राति ११ बजे हेलिकप्टर गएको थियो

उन्नत लाइट हेलिकप्टर एएलएच लाई ध्रुव पनि भनिन्छ। कोस्ट गार्ड, सेना र नौसेना सबैले यसको प्रयोग गर्छन् । यसको निर्माण कम्पनी हिन्दुस्तान एरोनटिक्स लिमिटेड एचएएलले हालै सेनाको एएचएल फ्लीटमा सुरक्षा सम्बन्धी महत्त्वपूर्ण अपग्रेडहरू गरेको थियो ।

गत वर्ष ध्रुव हेलिकप्टर डिजाइनमा समस्याका कारण धेरै दुर्घटनामा परेपछि यसको सुरक्षामा प्रश्न उठेको थियो । २०२३ को मे महिनामा सेनाले ध्रुव हेलिकप्टरको सञ्चालन एक महिनाका लागि रोकेको थियो । मार्चमा नौसेना र तटरक्षकले ध्रुव हेलिकप्टरको आफ्नो फ्लीट सञ्चालनमा रोक लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology