धनबहादुर तामाङ
गोरखा, १७ भदौ ःसिरानचोक गाउपालिकाको आर्थिक तथा प्राबिधिक सहयोगमा र नेपाल रेडक्रस सोसाइटी हर्मि उपशाखाको समन्वयमा आज हर्मीमा डेंगी रोकथाम तथा ”खोज र नष्ट गर” अभियान सन्चालन भएको हो । सिरानचोक गाउपालिका वडा नम्बर ३ हर्मी डेंगी रोगको रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको सिरानचोक गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो ।
गोरखा जिल्लामा सङ्क्रमण बढेको र गोरखामा सिरानचोकमा धेरै नै डेंगी बिरामीहरु भेटिएपछि गाउपालिका स्वास्थ शाखाको प्राबिधिक सहयोगमा खोज र नष्ट गर अभियान सुरु गरिएको उहाँको भनाई छ । डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि सरोकारवाला सबै सङ्ग छलफल तथा अन्तरक्रिया गरिएको हो ।
डेँगी रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकाले लामखुट्टे बस्ने ठाउलाई नै नष्ट गर्नु पर्ने प्रमुख श्रेष्ठको भनाइ छ । लामखुट्टे नष्ट गर्नका लागि घर परिपरी पानी जम्ने खाल्टा खुल्टी फुटेका भाडाहरु, थोत्रा टायर लगायतका स्थानमा लामखुट्टेले फुल पार्ने भएकोले त्यस्ता ठाउँहरुको पहिचान गरि नष्ट गर्नु पर्ने श्रेष्ठले बताउनुभयो ।
हर्मीबाट सुरु गरिएको खोज र नष्ट गर अभियान पालिका भित्रका सबै वडाहरुमा सञ्चालन हुनेछ । अभियानको उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष एवं सामाजिक विकास शाखाका प्रमुख जगदिश्वर ढकालले यो अभियान हर्मिबाट सुरु भएको वडा भित्रका सवै ठाउँमा सञ्चालन हुने बताउनुभयो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनैतिक दलका प्रमुख, सबै बिद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यहरु तथा सुरक्षाकर्मी बुद्धिजीवी लगायतको उपस्थित रहेको थियो ।