गोरखा २१, चैत । जिल्ला प्रसासन कार्यालय गोरखाले बिदेशबाट फर्किएर क्वारेन्टाइनमा नबस्नेहरुलाई कारवाही गर्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा व्यवस्थापनका लागि गठित जिल्ला स्तरीय समितिको आज बसेको बैठकले बिदेशबाट फर्किएकाहरुबाट कोरोना भाइरसको संक्रमण फैलने जोखिम बढि भएको भन्दै यस्तो निर्णय गरेको हो ।
बैठकले जिल्ला भित्र बिभिन्न देशबाट फर्किएकाहरुलाई सरकारले न्युनतम १४ दिन होमक्वारेन्टाइनमा बस्न पटक पटक आग्रह गर्दै आएको छ । ‘पटक–पटक आग्रह गरेपनि कतिपय व्यक्ति क्वारेन्टाइनमा नबसेको भन्नेपनि जानकारी आएको छ, समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भन्नुभयो, जिल्लाका बिभिन्न ठाउँमा निर्माण गरिएको क्वारेन्टाइनलाई पनि थप व्यवस्थित बनाउदै निरन्तर अनुगमन गर्न स्थानीय तहलाई आग्रह गरिएको छ ।’
प्रमुख जिल्ला अधिकारी पौडेलले तोकेको माफदण्ड अनुसार क्वारेन्टाइनमा नबसे संक्रमण रोग ऐन २०२० बमोजिम कारवाही गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै गोरखा सदरमुकाममा रहेको गोरखा अस्पताल, पालुङटारमा रहेको आपँपिपल अस्पताल लगायतका अन्य ३ वटा प्राथामिक स्वास्थ्य केन्द्रमा कोरोना भाइरसको उपचारका लागि क्लिनिक सञ्चालन गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।