काठमाडौं,१६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् ।
आज बिहान बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ ।’ यसको विरुद्धमा आवश्यक परे सडकमा पनि जान सक्ने उहाँले चेतावनी दिनुभयो ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउने केन्द्रीय एजेण्डा हुनुपर्ने धारणा राख्नुभयो ।
‘नयाँ शक्ति भनेकै माओवादी’
अर्को एक प्रसंगमा उनले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताउनुभयो । नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले भन्नुभयो, ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ ।’
‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं,’ उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’
समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिनुभयो । अब सरकारमा जानुभन्दा पार्टी निर्माण कार्यमा लाग्ने उहाँको भनाइ छ ।
पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताउनुभयो । ‘पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५र३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु,’ प्रचण्डले भन्नुभयो ।
यसैबीच माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको पार्टी प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई नयाँ गतिमा अघि बढाउन निर्देशन दिनुभयो । पार्टी वैचारिक, सांगठनिक र भावनात्मकरुपमा एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्दै उनले पार्टी विभाजनको हल्ला असत्य सावित भइसकेको बताउनुभयो ।