काठमाडौँ,१५ भदौ । बाल श्रमिकलाई शिक्षामा पहुँच पुग्न समस्या भएको छ । नेपालको संविधानले गुणस्तरीय शिक्षा पाउने बालबालिकाको अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरे पनि बाल श्रमिक सबैले शिक्षा लिन पाएका छैनन् ।
राष्ट्रिय जनणना २०७८ काअनुसार विद्यालय जाने उमेर अर्थात् चारदेखि १७ वर्षसम्मका करिब ७५ लाख बालबालिका रहेकामा आठ लाख अर्थात ११ दशमलव ३ प्रतिशत विद्यालयको पहुँचभन्दा बाहिर छन् । बाल श्रमिकका रुपमा कार्यरत ११ लाखमध्ये केहीले मात्र पढ्न पाएका छन् ।
११ वर्षअघि काठमाडौँ आइ घरेलु कामदारका रुपमा कार्यरत अनुत महताराले अहिले कानुन विषय लिएर १२ कक्षामा पढिरहेको बताउनुभयो । आपूmले मुस्किलले अध्ययन गर्न पाए पनि आपूm जस्तै बाल श्रमिकले पढ्न नपाएको उहाँको भनाइ छ ।
नेपालमा झण्डै ११ लाख बालश्रमिक रहेको अनुमान छ । उनीहरूमध्ये कतिले पढ्न पाएका छन् भन्ने तथ्याङ्कसमेत राखिएको छैन । बालअधिकारकर्मी तारक धितालले धेरै जना विद्यालय नै जान नपाउने र बल्लतल्ल पुगेकामध्ये कतिपय शिक्षक र साथीको व्यवहारका कारण विद्यालय छोड्न बाध्य हुने गरेको बताउनुभयो ।
बालबालिकाको पढ्न पाउने संवैधानिक अधिकारको कार्यान्वयन गर्दै बालश्रमिकको अध्ययन अघि बढाउन सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने अधिकारकर्मीको माग छ ।
१४ वर्षसम्मका बालबालिकालाई काममा लगाउनै पाइँदैन भने १४ देखि १८ वर्षसम्मका बालबालिकालाई सम्बन्धित श्रम कार्यालयबाट अनुमति लिएर हप्तामा बढीमा ३६ घण्टासम्म मात्र काममा लगाउन पाइन्छ । तर, आवश्यक कानुन निर्माण र भएका कानुन कार्यान्वयनमा ध्यान पुग्न नसकेको कानुनका अध्येता चण्डिका खतिवडाले बताउनुभयो ।
देशको भविष्यका रुपमा रहेका बालबालिका संविधानले नै ग्यारेन्टी गरेको शिक्षाको हकबाट विमुख हुनुपर्ने अवस्था अन्त्यका लागि आवाज उठिरहे पनि व्यहारमा खासै परिवर्तन हुन नसकेको बालअधिकारका क्षेत्रमा कार्यरतहरू बताउँछन् ।