काठमाडौं, ११ भदौ । नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् । अर्का प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उहाँको मात्रै उम्मेदवारी रहेको छ । यद्यपि निर्वाचन समितिले उम्मेदवारी दर्ताको अन्तिम नामावली भने निकालिसकेको छैन । जारी केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य निर्वाचनका लागि चुनाव भइरहेको हो ।
एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीका लागि चुनावी प्रक्रिया अघि बढेको हो । जसमा ६७ जनाले उम्मेदवारी दिएका छन् । केही पदमा उम्मेदवारी फिर्ताको क्रम चलिरहेको केन्द्रीय सदस्य सुदेश पराजुलीले जानकारी दिनुभयो ।
पार्टीको असार १६ गतेदेखि २० गतेसम्म चलेको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सर्वसम्मत चयन गरेको थियो । त्यस्तै पोलिटब्युरो सदस्यका लागि पनि निर्वाचन भइरहेको छ ।