गोरखा, ७ भदौ । गोरखा जिल्लाका भित्रका चारवटा स्थानीय तहले आर्थिक बर्ष २०७९/०८०मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ८० प्रतिसत भन्दाबढी अंक प्राप्त गरेका छन् । ११ स्थानीय तह रहेको जिल्लामा शहीद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले स्वमूल्याङ्कनमा ८० प्रतिसतभन्दा बढी अंक ल्याउन सफल भएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीवार सार्वजनिक गरेको नजिता अनसुार शहीद लखन गाउँपालिकाले ८४.२५ प्रतिसत, बारपाक सुलिकोट गाउँपालिकाले ८३.५० प्रतिसत, गण्डकी गाउँपालिकाले ८१.७५ प्रतिसत र भीमसेन थापा गाउँपालिकाले ८१.२५ प्रतिसत अंक प्राप्त गरेको जनाएको छ ।
त्यसभन्दा अघिल्लो आर्थिक २०७८/७९ मा भने शहीद लखन गाउँपालिकाले ८३.७५ प्रतिशत, वारपाक सुलिकोटले ८४ दशमलव ७५ प्रतिशत अंक प्राप्त गरेको गरेको थियो थियो । आर्थिक बर्ष २०७९/०८०मा पालुङटार नगरपालिकाले ७४ दशमलव ५० प्रतिसत, आरुघाट गाउँपालिकाले ७१ प्रतिसत र अजिरकोट गाउँपालिकाले ६८ प्रतिसत अंक प्राप्त गरेको मन्त्रालय सार्वजनिक गरेको नजितामा उल्लेख छ ।
त्यस्तै उत्तरी गोरखाको धार्चे गाउँपालिकाले ६७ प्रतिसत, सिरानचोक गाउँपालिकाले ६२ दशमलब ५० प्रतिसत, गोरखा नगरपालिकाले ४८.२५ प्रतिसत र चुमनुब्री गाउँपालिकाले ४८ दशमलब २५ प्रतिसत अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ । पालिकाहरुको शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना ब्यवस्थापन, वित्तीय एवम् आर्थिक ब्यवस्थापन, सामाजिक समावेशीकरण जस्ता सूचकलाई मुल्याङ्कनको आधार मानिएको हो ।
यस्तै सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपद् ब्यवस्थापन र सहकार्य तथा समन्वय सहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मुल्याङ्कन गरेका हुन् । तर यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रुपमा समावेश गर्नुपर्ने ब्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार स्वमूल्याङ्कनको काम प्रत्येक आर्थिक वर्षको पुष मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्मको तथ्याङ्कलाई आधार मानेर सबै सूचकको अङ्क गणना गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।