Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

छोरालाई चरम यातना दिँदै भिडियो सार्वजनिक गर्ने बाबु पक्राउ


1.3K
Shares

छोरालाई चरम यातना दिँदै भिडियो सार्वजनिक गर्ने बाबु पक्राउ

ओखलढुङ्गा, २५ साउन । बुवा अर्थात् ‘बाबा’ संसार देखाउने व्यक्ति । यो शब्द आफैंमा अर्थपूर्ण शब्द हो । हामी सन्तानका लागि यो शब्द कति धेरै मूल्यवान् र प्रिय छ । यो शब्दसँग संसार जित्ने आशा र भरोसा जोडिएको छ ।

कसैका लागि ‘हिरो’ र कसैका लागि ‘आइडल’ । जीवनको हरेक सुख दुस्खका पाइलामा बुवाको साथ र भरोसाले सन्तानलाई हिम्मत र मार्गदर्शन गर्छ । धेरैले भन्छन्, “संसारमा आमापछिको प्रिय शब्द बुवा हो, जसले सन्तानलाई दिन मात्रै आउँछ तर बदलामा केही कुराको अपेक्षा गर्दैन ।”

आफ्नो बुवालाई जीवनको ‘रोल मोडल’को रुपमा लिएका सन्तानका लागि उहाँबाटै कुनै प्रकारको यातना प्राप्त हुन्छ भन्ने कल्पनासम्म गर्न सकिन्न । आफ्नै बुवाले आफूलाई यातना दिन सक्छन् भन्ने कुरामा हामीमध्ये कतिपयलाई आश्चर्य लाग्नसक्छ । तर यो हाम्रो कल्पनाभन्दा बाहिरको यथार्थ ओखलढुङ्गामा भएको छ ।

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ ओखलढुङ्गाका ४३ वर्षीय फुरिञ्जी शेर्पा छोरालाई यातना दिएको आरोपमा पक्राउ परेका छन् । छोरालाई चरम यातना दिएर घाइते बनाएको आरोप उहाँमाथि छ । शेर्पाले आफ्नै ४ र ६ वर्षीय छोरालाई चरम यातना दिने गरेको खुलेको हो । गाउँदेखि एकान्तमा शेर्पाको घर छ । शेर्पाले लामो समयदेखि छोरालाई यातना दिने गरेको रहस्य सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत बाहिरिएको हो ।

शेर्पाले आफ्नै ६ वर्षीय छोरालाई कुटपिट गर्नुका साथै खड्कुलोमा हाली पानीसँगै उमाल्ने, डोरीले बाँधेर उल्टो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । शेर्पा छोरालाई चरम यातना दिने र आफैंले भिडियो बनाएर सामाजिक सञ्जालमार्फत श्रीमतीलाई पठाउने गर्छन् । शेर्पाकी श्रीमती भने रोजगारीका लागि साइप्रसमा छन् ।

नेपालमा हुँदा आफूलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पा बताउनुहुन्छ । आफूलाई रिस देखाउन छोरालाई यातना दिएर भिडियो खिँचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साइप्रसबाट शेर्पाले बताउनुभयो ।

यस्तै, शेर्पाका चार सन्तानमध्ये एक जना बेपत्ता छन् । उनी बेपत्ता भएको करिब नौ वर्ष भएको स्थानीयको भनाइ छ ।

खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष ङवाङफुरी शेर्पाले आफ्ना छोरालाई धेरै यातना दिने गरेको पुष्टि गर्नुभयो । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाइएको र छोराहरुको उद्धार गरेर स्वास्थ्य परीक्षण गराइएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीका अनुसार घटनाको विषयमा थप अनुसन्धान गर्नका लागि पक्राउ परेका शेर्पालाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम लगिएको छ ।

नेपालको संविधानले बाल अधिकार सुनिश्चित गरेको छ । बच्चाहरूलाई कुट्ने, झुण्याउने जस्ता हिंसात्मक व्यवहार गरे कारबाही हुने कानुनी व्यवस्था छ । तर अझै पनि अधिकांश बालबालिका आफ्नै आमाबुवाको रिसको सिकार बन्ने गरेका छन् । शेर्पाले आफ्नै छोरालाई चरम यातना दिएको भिडियो गोरखापत्र अनलाइनलाई प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology