Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखा अस्पताल सहितका सरकारी अस्पतालमा डेंगी रोगको निशुल्क परीक्षणको व्यवस्था मिलाउने तयारी


2.1K
Shares

गोरखा अस्पताल सहितका सरकारी अस्पतालमा डेंगी रोगको निशुल्क परीक्षणको व्यवस्था मिलाउने तयारी

गोरखा, २५ साउन । गोरखा अस्पतालमा डेंगी रोगको निशुल्क परीक्षणको व्यवस्था मिलाइने भएको छ । विपत तथा प्रकोपजन्य अवस्थामा बहुपक्षिय निकायहरुको आज जिल्ला प्रसासन कार्यालय गोरखामा बसेको समन्वयात्मक बैठकले जिल्ला भित्र रहेका सम्पुर्ण प्रयोगशालामा डब्लु एच ओ सटिफाइड प्राप्त किटबाट डेंगीको परीक्षण गर्नुपर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै गोरखा अस्पतालमा निशुल्क परिक्षणको व्यवस्था मिलाउने र जिल्ला भित्रका अन्य सरकारी प्रयोगशालामा पनि निशुल्क डेंगी परिक्षणको व्यवस्था मिलाउन स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णय समन्वयात्मक बैठकले गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

बैठकले जिल्ला भित्रका नीजि प्रयोगशालाहरुमा डेंगी रोगको परीक्षण गर्दा बढीमा रु ६०० परिक्षण शुल्क लिने व्यवस्था कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै डेंगु रोग सार्ने लामखुट्टेको “लार्भा खोज र नष्ट गर’’ को अभियानलाई स्थानीय तहका वडा, सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय लगायतका निकाय मार्फत घर भित्र र बाहिर लामखुट्टेको वासस्थान “खोजौ र नष्ट गरौ” अभियान संचालनको अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले वर्षायाम सँगै प्राकृतिक प्रकोपको बढ्दो अवस्थामा खानेपानीका मुहानहरु प्रदुषित भई हैजा, झाडापखाला, टाइफाइड, आउँ जस्ता पानीजन्य रोगको संक्रमण फैलन सक्ने भएकाले पानी उमालेर तथा शुद्द बनाएर प्रयोगमा ल्याउन स्वास्थ्य कार्यालय,गोरखा मार्फत सचेतना फैलाउने निर्णय भएको उहाँले बताउनुभयो ।

महामारी फैलिई जनधनको क्षति हुन जाने अवस्थालाई ध्यानमा राखी ¥यापिड रेस्पोन्ट टिम तयारी अवस्थामा राख्ने लगायतको निर्णय पनि बैठकले गरेको छ । त्यस्तै औषधी तथा औषधीजन्य सामग्रीहरु खरीद गरी आवश्यक व्यवस्था गर्ने, पाइलिङ गर्ने, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा जिल्ला भित्र महामारी रुपमा फैलिएको डेंगी रोग रोकथाम लगायत जिल्लामा देखा पर्ने गरेका विभिन्न महामारी जन्य रोगहरुको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गरिएको प्रयासका बारेमा बैठकमा समिक्षा समेत भएको जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्री भोला दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology