गोरखा, २२ साउन । गोरखा नगरपालिका वडा नम्बर १४ स्थित प्युरबेशीमा आगलागीबाट एउटा गोठमा पूर्ण रुपमा क्षति पुगेको छ गाई गोरु जलेर मरेका छन् ।
गएराती स्थानीय प्रताप पन्तको गोठमा पशुबस्तुलाई भुसुना तथा लामखुट्टेको टोकाईबाट जोगाउन बालिएको भुसबाट सल्किएर गोठमा आगलागी भएको वडाध्यक्ष गोपालबहादुर थापाले जानकारी दिनुभयो ।
आगलागीबाट गोठ रहेको व्याउने गाई तथा एउटा बाच्छा जलेर मरेको उहाँको भनाई छ । वरपरका गाउँलेहरुले गोठमा आगलागी भएको देखेपछि घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट गोठमा रहेका सवै काठ दाउरा तथा लत्ता कपडा समेत जलेर नष्ट भएको छ । क्षतिको एकिन भइनसकेको वडाध्यक्ष थापाको भनाई छ । गोठमा घर बनाउन भनेर काटेर राखेको सवै काठ समेत जलेको स्थानीयबासीहरुले जनाएका छन् ।