गोरखा, १४ साउन : उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परी बेपत्ता भएकाहरुको आज विहानैदेखि खोजी कार्य पुनः सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँच जनाको आइतवार दिनभर खोजी गरिएपनि फेला पार्न नसकिएपछि विहानैदेखि खोजी गर्न थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बेपत्ता भएकाको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासी जुटेको उहाँको भनाई छ । ‘‘पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ, उहाँले भन्नुभयो,‘‘हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आजफेरी विहानैबाट खोजी कार्य थालेका छौ ।’’
बेपत्ताको खोजीका लागि जेसिवी मेसिनसमेतको प्रयोग गरिएको उहाँले बताउनुभयो । आइतवार राती घरमाथिको डाँडाबाट खसेको लेदोसहितको पहिरोले स्थानीय जीतबहादुर गुरुङको कृषि फार्म र एक घर बगाँउदा उहाँ सहित ३५ बर्षीया कान्छी गुरुङ, बर्ष ६० बर्षीय सुलाल कान्छा गुरुङ, ३३ बर्षीय रमेश गुरुङ र २४ बर्षका रमेश परियार बेपत्ता भएका थिए ।
डाँडाबाट खसेको पहिरो बुढीगण्डकी नदीसम्म पुगेकाले बेपत्ता भएकाहरुलाई नदीको बगाएको पनि हुनसक्ने अनुमान समेत गरिएको छ । प्रहरीले आजदेखि बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा समेत बेपत्ताको खोजी कार्य थालेको डिएसपी श्रेष्ठले भनाई छ ।