Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बच्चाले खाना खान मान्दैनन्, के गर्ने ?


1.3K
Shares

बच्चाले खाना खान मान्दैनन्, के गर्ने ?

काठमाडौं, १३ साउन । कपनकी ऋषिका हुमागाईं खाना खानै मान्दिनन् । खान खुवाउने बेला अभिभावक उनको पछि पछि कुद्नुपर्छ । मोबाइल तथा टिभी नहेरी त झन् खाना खाँदै खान्नन् । ऋषिकाको यो बानीले उनको अभिभावक धेरै नै हैरान भएका छन् । राम्ररी खाना नखाएको कारण उनको तौल निकै कम छ । घरको खाना खान आनाकानी गर्ने उनी बाहिरको समोसा, मःम जस्ता खानेकुरा भने अलि सहज तरिकाले खान्छिन् ।

त्यस्तै जोरपाटीका कृतज्ञ रिमाल पनि खाना खानै मान्दैनन् । उनले खाना नखाएको देखेर उनकी आमा चिन्तित हुन्छिन् । छोराले खाना खाओस् भनेर उनी अनेक उपाय अपनाउँछिन् । नयाँ(नयाँ परिकार बनाएर दिन्छिन् । तै पनि कृतज्ञ खाना खान आनाकानी गर्छन् । छोराको यो खाना नखाने बानीले उनलाई हैरान बनाएको छ ।

साना बालबालिकाले मलाई यो खानेकुरा मन परेन भनेर भन्न जान्दैनन् । अभिभावकहरूले मेरो बच्चाले खाना खाएन भनेर गुनासो त गर्ने, तर किन खाना खाएन भनेर राम्ररी याद भने नगर्ने बालरोग विशेषज्ञ डा. बाबुराम पाण्डे बताउँछन् ।

बालबालिकाको तौल उमेर अनुसारको हुनुपर्छ । त्यसैले बच्चाको तौल कति छ र त्यो तौल उसको उमेर अनुसार ठीक छ कि छैन भन्ने कुरा हरेक अभिभावकले थाहा पाउनुपर्ने डा. पाण्डे बताउँछन् । ‘बच्चाको उमेर अनुसार तौल ठीक छ भने बच्चाले खाना खाएनन् भनेर चिन्ता गर्नु पर्दैन,’ उनी भन्छन् ।

यस्तोमा अभिभावकले खोजेको जति बच्चाले नखाएको हो, उसलाई पुग्ने जति खाएको छ भनेर बुझ्नुपर्छ ।

डा। पाण्डे भन्छन्, ‘बच्चाको उमेर अनुसार तौल ठीक छ । बच्चाले खान मान्दैन भने खाना खाऊ भनेर कर पनि गर्नु पर्दैन । एक(दुई दिन उसलाई खाना खाऊ भनेर पछि लाग्न छाड्यो भने उसले आफैं खान थाल्छ ।’

डा. बाबुराम पाण्डे
बच्चाले खाना खान मानिरहेको छैन भने उसमा केही स्वास्थ्य समस्या पनि हुनसक्ने उहाँ बताउनुहुन्छ । ‘बच्चालाई ज्वरो आएको छ, कुनै संक्रमण भएको छ वा अन्य स्वास्थ्य समस्या छ भने पनि बच्चाले खाना नमान्ने हुन्छ । यस्तोमा बच्चाको तौल कम छ र उसले लामो समयदेखि खाना खान मन गर्दैन भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ,’ उहाँ भन्नुहुन्छ ।

बच्चालाई केही नयाँ खाना खुवाइयो भने भने उनीहरूले त्यो खाना खान मन गर्दैन । त्यस्तो भएमा उनीहरूलाई कर गर्नु भन्दा बिस्तारै खानाको बानी पार्दै जानुपर्छ ।

‘एउटै प्रकारको खाना दैनिक रुपमा खान दिइयो भने बालबालिकाले खान मन गर्दैनन्,’ डा. पाण्डे भन्छन्, ‘बालबालिकालाई खाना दिंदा रुचि अनुसार परिवर्तन गरेर दिंदा खानामा उनीहरुको रुचि बढ्छ ।’

कुनै बालबालिकालाई अटिजम भएको छ भने उनीहरूलाई पनि खाना खुवाउन गाह्रो हुन्छ । यस्तो समस्यामा भने चिकित्सकको सल्लाह लिनुपर्ने डा. पाण्डे बताउँछन् ।

नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको गतिविधि अलि धेरै हुन्छ । त्यसैले उनीहरूलाई एकै ठाउँमा राखेर खाना खुवाउन खोज्दा खान मान्दैनन् । यो उमेर समूहको बालबालिकालाई घुमाएर खुवाउँदा सजिलो हुन्छ ।

बच्चाले कुनै खानेकुरा खाएन भने उसलाई खानाको एलर्जी वा ग्यास्ट्रिक भएको हुनसक्छ । बच्चालाई पनि ग्यास्ट्रिक हुन्छ र भन्ने अभिभावकको प्रश्न हुन्छ । ठूलो मान्छेलाई जस्तो लक्षण नदेखिए पनि बच्चालाई पेट ढुस्स हुने र खाना नपच्ने जस्ता समस्या हुन्छ । त्यसैले पूरक खाना सुरु गर्नुअघि वा बच्चाले लामो समयदेखि खाना खान मानेको छैन भने एक पटक चिकित्सक तथा पोषणविद्को सल्लाह लिनु राम्रो हुन्छ ।

बच्चालाई खाना खाने बानी बसाउन के गर्ने ?

मेरो बच्चाले खानै खाएन भन्ने गुनासो गर्नु भन्दा बच्चाले खाना किन मन पराएन ? कसरी बनाउँदा मन पराउँछ भन्ने कुरामा ध्यान दिंदा बच्चालाई खाना खुवाउन सजिलो हुने पोषणविद् अनुश्री आचार्य बताउनुहुन्छ ।

‘बालबालिकालाई खाना खाने बानी बसाउन उमेरअनुसार विशेष खाना तयार गर्नुपर्छ । ६ महिनापछि लिटो, जाउलो जस्ता गिलो र नरम खाना दिनुपर्छ भने एक वर्षपछि नरम भात, दाल, तरकारी दिनुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘तीन वर्षको उमेरभित्र बच्चालाई सबै प्रकारका खाना खाउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology