गोरखा, १३ साउन : उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा गएराती पहिरोमा परी वेपत्ता भएका सवैको पहिचान खुलेको छ । गएराती अन्दाजी ३ बजेको समयमा स्थानीय जीतवहादुर गुरुङ्गको घर र गोठ पहिरो बगाउँदा ५ जना बेपत्ता भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ्गले पुष्टी गर्नुभयो ।
पहिरोमा वेपत्ता हुनेहरुमा जीतवहादुर सहित कान्छी गुरुङ्ग, सोलाल कान्छा गुरुङ्ग, रमेश परियार र रमेश गुरुङ्ग रहेको उहाँको भनाई छ । घटनास्थलमा वेपत्ताहरुको खोजीका लागि स्थानीयबासी सहित जनप्रतिनिधि र नेपाल प्रहरीको टोली पुगीसकेको छ । पहिरोमा परी घाइते भएका दिलिप गुरुङ्ग र छामबहादुर गुरुङ्गमध्ये दिलिपको अवस्था भने गम्भीर रहेको छ ।
‘‘म घटनास्थलतर्फ जाँदै छु, उहाँले भन्नुभयो, ‘‘नेपाली सेनाको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ गइरहेको छ, त्यहाँ स्थानीयबासी र प्रहरीको टोली भने घटनास्थलमा पुगेर वेपत्ता भएकाको खोजी तिव्र पारेको छ ।’’ भौगोलिक विकटताका कारण घटनास्थलतर्फ पुग्न कठिनाइ भएको उहाँको भनाई छ ।
उक्त घरमा होटल समेत सञ्चालन गरिएकाले बाहिरबाट समेत मानिसहरु आएर खानेबस्ने गर्दथे । यसअघि पहिरोमा परी ४ जना वेपत्ता भनिएपनि अर्का थप एक व्यक्ति समेत पहिरोमा वेपत्ता भएको पुष्टी भएको हो ।
सोही ठाउँमा कामका लागि पुगेका ट्याक्टर चालक रमेश परियार समेत पहिरोमा परेर वेपत्ता हुनुभएको स्थानीयबासी कर्ण माइला गुरुङ्गले जानकारी दिनुभयो । उहाँ शनिबार मात्र ट्याक्टर लिएर त्यहाँ पुग्नुभएको थियो । घाइते दुवैको भने स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।