गोरखा, २१ असार । आगामी तीन दिन देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने मौसमविद्ले बताएका छन् ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानको उत्तरमा रहेकाले अबको तीन दिन ठूलो पानी पर्ने देखिएको मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावमा रहेको छ । भोलिदेखि भने भारी वर्षा हुने क्रम बढ्ने देखिएको छ ।
भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एकदुई स्थानमा भारीको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा पनि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।