गोरखा, १४ असार । नेपाल समाजवादी पार्टीले बुढीगण्डकी करिडोर बहुउद्देश्यीय आयोजना निर्माणका लागि बुढीगण्डकी करिडोर विकास प्राधिकरण गठन गर्न माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज यससम्बन्धि ज्ञापन पत्र बुझाउनुभएको हो । ज्ञापन पत्रमा बुढीगण्डकी आयोजनालाई विद्युत प्राधिकरण अन्तर्गतको सहायक कम्पनीको रुपमा रहेको कमजोर संरचना खारेज गरी अधिकार र साधन स्रोत सम्पन्न बुढीगण्डकी करिडोर विकास प्राधिकरण तुरुन्त गठन गर्न माग गरिएको छ ।
प्राधिकरणमार्फत समग्र बुढीगण्डकी करिडोर विकासका कामहरु तीब्रताका साथ अगाडि बढाउन माग गरिएको डाक्टर भट्टराईले बताउनुभयो ।
यसका लागि सरकारले बुढीगण्डकी विकास प्राधिकरण ऐन ल्याएर यसलाई अगाडि बढाउनुपर्ने र भदौ भरिमा पनि माग पूरा नभए स्थानीय नागरिक र सरोकारवाला मिलेर आन्दोलन गर्ने उहाँले बताउनुभयो ।