गोरखा, २६ जेठ । झण्डै पाँच बर्षदेखि बन्द भएको उत्तरी गोरखाको छेकम्पार र तिव्बत जोड्ने ङुइला नाका खुलेको छ । कोरोना संक्रमणसंगै चीन सरकारले एकतर्फी रुपमा बन्द गरेको नाका खुल्ला भएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
‘‘कोरोना संक्रमणको कारण देखाउदै चीनले गएको ५ बर्षदेखि ङुइला नाका बन्द गर्दैै आएको थियो, उहाँले भन्नुभयो, ‘‘केहीदिन अघि तिव्बतको जोङ्गास्थित स्या शहरमा एक कार्यक्रमको बिच नाका खुल्ला गरिएको घोषणा भएको हो ।’’
नाका खुल्ला भएको घोषणा भएसंगै अव असारदेखि ङुइला नाका सञ्चालनमा आउने छ । ङुइला नाकाबाट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको छेकम्पार र तिव्बतको जोङ्गास्थित स्या शहर जोडिने अध्यक्ष लामाले जानकारी दिनुभयो ।
नाका खुलेपछि छेकम्पार, चुम्चेतलगायतका आसपासका सर्वसाधारणलाई सहज हुने भएको हो । लामो समयसम्म तिव्बतसंगको नाका बन्द हुँदा त्यसक्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य सामाग्री समस्या हुँदै आएको थियो । यातायातको सहज पहुँच नभएकाले सदरमुकामबाट सामान ढुवानी गर्न मुस्किल पर्ने गरेको थियो ।
‘‘यसक्षेत्रका स्थानीय बासिन्दालाई गोरखा बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गरेर लैजान मंहगो पर्ने भएकाले चिनियाँ बजार सामान खरिद गरेर ल्याउने गर्दछन्, उहाँले भन्नुभयो,‘‘ विहान पुगेर बेलुकी फर्कन सक्ने भएकाले पनि अव नाका खुलेसँगै धेरै कुराको सहज हुने भएको छ ।’’