Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चुमनुब्री गाउँपालिकास्थित गणेश हिमालको आधार शिविरसम्म पदमार्गको खोजी


1.8K
Shares

चुमनुब्री गाउँपालिकास्थित गणेश हिमालको आधार शिविरसम्म पदमार्गको खोजी

गोरखा, २५ जेठ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित गणेश हिमाल आधार शिविरसम्म पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । गणेश हिमालसम्म पदमार्ग सञ्चालनमा ल्याउनसके उत्तरी गोरखाको पर्यटन प्रर्वद्धनमा थप मद्दत पु¥याउन सकिने भएकाले गणेश हिमालको आधार शिविरसम्म पदमार्गको पहिचानका लागि प्रारम्भिक अध्ययन गरिएको धार्चे मनास्लु पर्यटन विकास समितिका अध्यक्ष सानेवहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँपालिकाको सहयोगमा परामर्सदातासमेत ल्याएर सम्भावित पदमार्गको खोजी गरिएको उहाँको भनाई छ । पदमार्गको अध्ययनका लागि स्थानीयसहित इन्फ्रा डेभलपमेण्ट कन्सल्ट्यान्टबाट आएको अध्ययन टोली गणेश हिमालको करिब ४ हजार ८ सय १० मिटर उचाइसम्म पुगेर पदमार्गको सम्भाव्यता अध्ययन गरेको हो ।

‘‘स्थानीयको सहयोगमा अध्ययन टोलीले पदमार्गको सम्भाव्यता अध्ययन गरेर फर्किसकेको छ, अध्यक्ष गुरुङले भन्नुभयो, सो क्रममा टोलीले जिपिएस, पदमार्गको नक्सा लिने कामसमेत गरिसकेको छ ।’’ अध्ययनका क्रममा गणेश हिमाल आधार शिविरसम्म पदमार्गको राम्रो सम्भावना रहेको पाइएको छ ।सम्भावित पदमार्गको कतिपय ठाउँमा खानेपानीको समस्या देखिएकाले कहाँबाट पानी ल्याउन सकिन्छ भन्नेमा थप अध्ययन गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

‘‘धार्चेसम्मको विसं २०७९ मै गणेश हिमाल पदमार्ग सम्भाव्यता अध्ययन भइसकेको थियो, अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘चुमनुब्रीतर्फ काम भएको थिएन, यसपटक प्रारम्भिक अध्ययनको काम सम्पन्न गरिएको छ ।’’खोजी गरिएको पदमार्गमा पर्यटक बस्नका लागि सुरक्षित क्याम्प रहने स्थानहरु, पयर्टक जोखिम पर्नसक्ने स्थानलगायतका क्षेत्रको पनि टोलीले अध्ययन गरेको हो । धार्चे र चुमनुब्री गरी गणेश हिमाल पदमार्ग पुरा गर्न करिब एकहप्ता लाग्ने अनुमान गरिएको छ ।

‘‘अध्ययन गरिएको पदमार्गमा अहिले तत्कालका लागि टेण्ड ट्रेकमात्र सञ्चालन गरी सानो–सानो पर्यटकको ग्रुप लैजान सकिने अवस्था छ, उहाँले भन्नुभयो, ‘‘पछि होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा ल्याउनसके थप सहज हुने नै भयो ।’’

टोलीले सल्लेरी, पातीबाट देवल, दोङकरचेत, लङ्तखर्क, भीमाथाङखोला हुँदै गणेश हिमालको आधार शिविरसम्मको पदमार्गको अध्ययन गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

‘‘पदमार्गको ठाउँठाउँमा साइन वोर्ड राख्नुपर्ने र तीन ठाउँमा पुल हाल्नुपर्ने अध्ययनका क्रममा पाइएको छ, उहाँले भन्नुभयो, त्यति गर्नसके टेण्ड ट्रेकमार्फत पदमार्गमा पर्यटक भित्र्याउन सकिन्छ ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology