गोरखा, १ जेठ । गोरखा नगरपालिकाको मानेपानीदेखि स्वाँरा–नारेश्वर हुँदै पडेनीचौतारा जोड्ने सडक ‘ट्रयाक’ खुलेको झण्डै ३६ बर्षपछि कालोपत्रे भएको छ । विसं २०४५ सालमा ‘ट्रयाक’ खुलेको दश किलोमिटर सडकखण्डमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रे गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका इन्जिनियर दीपक बस्नेतले जानकारी दिनुभयो ।
नारेश्वर–निवेल–ताकुुकोट सडक आयोजनाको पहिलो खण्डमा पर्ने सो सडकखण्ड कालोपत्रेका लागि रु २५ करोड ६३ लाख रुपैयामा ठेक्का सम्झौता भएको थियो । विसं २०७६ सालमा उक्त सडकखण्ड कालोपत्रे गर्न कार्यालयले रौताह–पिके–गोरखा जेभीसंग सम्झौता गरेको उहाँले बताउनुभयो ।
सम्झौता अनुसार दुईबर्ष अघि नै उक्त सडकखण्ड कालोपत्रेको काम भइसक्नुपर्ने भएपनि ढिलो गरी काम सम्पन्न भएको इन्जिनियर बस्नेतले बताउनुभयो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बिनियोजन गरेको बजेटमार्फत सडक कालोपत्रे गरिएको उहाँको भनाई छ ।
बर्खाका बेला हिलाम्ले र हिउँका बेला धुलाम्मे हुने सडक कालोपत्रे भएपनि स्थानीयबासीलाई आवाजतावतमा सजिलो भएको छ । सडक कालोपत्र भएपछि यात्राअवधी छोटिएको, यात्रा सहज, सुरक्षित भएको, हिलो र धुुलोबाट मुक्ति मिलेको गोरखा नगरपालिका–३ नारेश्वरका स्थानीबासी कुमार थापाले बताउनुभयो ।
त्यस्तै स्थानीय कृषि उपज बजारीकरण, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुुवानीमा सहज भएको स्थानीयबासीहरुले बताएका छन् ।