Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या


1.4K
Shares

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

गोरखा, २८ वैशाख ः उत्तरी गोरखाको मनास्लु क्षेत्र अन्र्तगत माथिल्लो मनास्लु पदमार्गमा बिभिन्न ठाउमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रर्दशकलाई हिडडुल गर्न समस्या भएको छ । बाटो देखाउन पदमार्गमा राखिएका ‘मार्किङ पोल’ कतै ढलेको र कतै भाँचिएका कारण लार्केबजारदेखि माथि हिमपात परेका बेला गन्तव्यमा पुग्न पर्यटक र पथप्रर्दशकलाई कठिन हुने गरेको हो ।

‘‘हिमपातका बेला पदमार्ग पत्ता लगाउनका पथप्रर्दशकले ‘मार्किङ पोल’ को सहायता लिनुपर्छ, ‘‘लामो समयदेखि मनास्लु क्षेत्रमा पथप्रर्दशकको रुपमा काम गर्दै आउनु भएका सूर्य खनालले भन्नुभयो, ‘‘तर लार्के बजारमाथि राखिएका ‘मार्किङ पोल’ ढलेको, भाँचिएको र अक्षर मेटिएको अवस्था छ ।’’

हिमपात नपरेका बेला बाटो देख्न सकिने भएकाले आउजाउ गर्न गाह्रो नहुने भएपनि हिमपातले बाटो पुरिएका बेला ‘‘मार्किङ पोल’ विना अनुमानका भरमा जोखिम मोलेर पर्यटकलाई पथप्रर्दशकले हिडाउनु पर्ने बाध्यता रहेको उहाँको भनाई छ । धमशाला, लार्केपासदेखि भिम्ताङसम्मका पदमार्गमा मार्किङ पोलहरु अस्तव्यस्त रहेको उहाँको भनाई छ ।

पछिल्लो समय विदेशी पर्यटकको अत्याधिक रोजाईमा पर्दै आएको मनास्लु पदमार्गमा दैनिक सयौ विदेशी पर्यटकले पदयात्रा गर्ने गर्दछन् । ‘‘मनास्लु पदमार्ग आफैमा पनि जोखिमयुक्त पदमार्ग नै हो, उहाँले भन्नुभयो, ‘‘जोखिमपूर्ण यात्रा गर्नुपर्ने पदमार्गमा झनै ‘मार्किङ पोल’ नहुँदाको कठिनाई पथप्रर्दशकलाई थपिएको छ ।’’

पदमार्गमा राखिएका मार्किङ पोल बिचको दुरी समेत निक्कै टाढाटाढा रहेको छ । ‘‘पथप्रर्दशकलाई हिमपातकाका बेला बाटो पहिल्याउने साहारा भनेकै ‘मार्किङ पोल’ हो, पथप्रर्दशक खनालले भन्नुभयो, ‘‘जसको सहायताले बाटो खोज्दै हिड्नुपर्छ त्यहीँ नभएपछि समस्या हुने नै भयो ।’’

पोल ढलेको बिषयमा पटक–पटक कार्यालयलाई जानकारी गराइएको भएपनि वेवास्ता गरेको उहाँको भनाई छ । ‘‘बजेट अभाव भएको भएपनि ढलेका पोललाई यथास्थानमा गाड्ने तथा अक्षर मेटिएको बोर्डमा लेख्ने काम मात्र गरेपनि निक्कै सहज हुने थियो,’’ अर्का पथप्रर्दशक किशोर न्यौपानेले भन्नुभयो ।

 

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाका सूचना अधिकारी समेत रहनु भएका संरक्षण अधिकृत भूवनराज ओझाले ढलेका पोल पुनः गाड्ने तथा भाँचिएको पोलको ठाउँमा नयाँ पोल राख्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले मार्किङ पोलको सहायताले हिउँ परेका बेला पर्यटक र पथपर्दशकले बाटो पहिचान गरेर हिड्नु पर्ने भएकाले मार्किङ पोल अनिवार्य रहेको समेत बताउनुभयो ।

‘‘कार्यालयबाट कर्मचारी खटाएर कुन ठाउँमा कतिवटा मार्किङ पोल आवश्यक पर्छ भनेर डाटा निकालीसकेका छौ, उहाँले भन्नुभयो, ‘‘भाँचिएको र दुरी टाढारहेका ठाउँमा नयाँ पोल राख्ने र ढलेका पोल उठाएर साविकै ठाउँमा गाड्ने गरी काम सुरु गर्न लागिएको छ ।’’ अधिकृत ओझाले आउदो असार मसान्तसम्म सवैकाम सम्पन्न गर्ने बताउनुभयो ।

भौगोलिक जटितलाका कारण ढलेका पोल उठाउन र भाँचिएको पोलको ठाउँमा नयाँ पोल राख्न ढिलाइ भएको उहाँले दावी गर्नुभयो । ‘‘‘केही पोल बनेर फिलिमसम्म आइपुगी सकेको छ, अधिकृत ओझाले भन्नुभयो, ‘‘बाँकी आवश्यक पर्ने पोल बनाएर ल्याउन लागिएको छ । माथिल्लो मनास्लु पदमार्गको जगतदेखि मनास्लु आधार शिविरसम्म ८१ वटा ‘मार्किङ पोल’ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology