Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखाबाट हज यात्रामा जान लागेका हजयात्रीको विदाई


1.5K
Shares

गोरखाबाट हज यात्रामा जान लागेका हजयात्रीको विदाई

गोरखा, २४ वैशाख ः गोरखाबाट साउदी अरवको मक्का मदीना हज यात्रामा जान लागेको हजयात्रीहरुको आइतवार विदाई गरिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखामा एक कार्यक्रमको आयोजना गरी गोरखाबाट हज यात्रामा निस्कन लागेका १३ जना हजयात्रीहरुको विदाई गरिएको हो ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरलगायत मुस्लिम धर्म गुरुहरुले हजयात्रीहरुलाई पुष्पगुच्छा सम्मानसहित विदाई गर्नुभएको हो । हजयात्राका लागि जिल्लाबाट यसपटक ७ जना महिला र ६ जना पुरुष गरी १३ जना छनोट भएका थिए ।
इस्लाम धर्मको पाँच मुख्य कार्यमध्ये पाँचौ कार्य हजयात्रा भएकाले मुस्लिम समुदायले हजयात्राले विशेष रुपमा लिने गर्दछन् । ‘‘हजयात्रा अल्लाहको आदेश, अल्लाहको हुकुम हो, इस्लाम धर्मगुरु मौलाना बसीरले भन्नुभयो, ‘‘अल्लाहको हुकुम पूरागर्नका लागि मुस्लिम धर्मालम्बीले हजयात्रा गर्ने गर्दछन् ।’’

नेपालबाट गएका हजयात्रीहरु ४५ दिनसम्म मक्का मदीनामा रहने मुस्लिम अगुवा रहमतुल्ला मियाँले बताउनुभयो । ‘‘जिल्ला प्रसासन कार्यालयले गोरखाका हजयात्रीलाई स–सम्मान बिदाइ गरेर देशमा धार्मिक सहिष्णुताको अनुपम उदाहरण दिएको छ, उहाँले भन्नुभयो, ‘‘यसबाट हामीलाई हौसला पनि मिलेको छ ।’’

इस्लाम धर्ममा हजयात्रा गर्दा जीवनमा जानअन्जानमा भएगरेका सवैखालका पापकर्महरु नाश भएर जानेछ भन्ने विश्वास गरिन्छ । ‘‘हज भनेको तोकिएको स्थानमा, तोकिएको समयमा, तोकिएको कर्म गर्ने भन्ने हो पनि हो, उहाँले भन्नुभयो, ‘‘ यदी कुनै कारणले तोकिएको दिन, तोकिएको ठाउँमा तोकिएको कर्म गर्न छुट्यो भने फेरी छुटेको कर्म गर्न जानैपर्छ भन्ने पनि इस्लाम धर्मको मान्यता छ ।’’

गोरखा नगरपालिकाका ११ र भिमसेन थापा गाउँपालिका ६ का २ जना रहेका छन् । जसमा रहमतुल्ला मियाँ, शुरिला मियाँ, महिबुब मियाँ, सरिफा मियाँ, सम्मदिन मियाँ, सानू बिबि मियाँ, पुनरबकस मियाँ, रजिया बिबि, पिर बकस मियाँ, हाजरी बिबि खुर्सिदा बिबि, अहमदिन मियाँ र हनिफा विवि रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

यस बर्ष गृह मन्त्रालय अन्तरगत रहेको हज समितिले प्रत्येक हजयात्रीसंग ४ लाख १५ हजार रुपैयाका दरले शुल्क संकलन गरिसकेको छ । यसबाट नेपालबाट साउदीसम्म जाने आउने प्लेन भाडा, मेडिकल फि, खान बस्नसहितको होटल ब्यवस्थापन, मक्का महिदनामा स्थानीय यातायात, तथा साउदी सरकारलाई हज वापत बुझाउनु पर्ने शुल्क लगायतमा खर्च हुने गर्दछ ।

इस्लाम धर्ममा आर्थिक र शारिरिक रुपमा सवललाई मात्रै हज अनिवार्य गरिएको छ । हज सम्पन्न गरेपछि पुरुषलाई हाजी तथा महिलालाई हज्जिन शब्दले सम्बोधन गर्ने यस समुदायमा प्रचलन रहेको छ । अरबिक पात्रो हिजारी सम्वतको बाह्रौ महिना ‘जिल हिज्जा’को अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हज गर्ने प्रचलन रहदै आएको छ ।

हजमा टेकेर फर्कने हजयात्रीले हजीको उपाधी प्राप्त गर्ने इस्लाम धर्मको मान्यता रहदै आएको छ ।विदाई कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले हज यात्रामा जान लागेका इस्लाम धर्मालम्बीहरुलाई सम्मान सहित विदाई गरेर पठाउनु राज्यले सवै धर्मलाई समान व्यवहार गर्छ भन्ने भन्ने उदाहरण भएको बताउनुभयो ।

विदाई कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाललगायतले हजयात्रीको विदाई गर्नुभएको हो । साउदी अरवको मक्का मदीनामा हरेक बर्ष गोरखाबाट पनि हजयात्री मक्का मदीना जाने गर्दछन् । यस बर्ष नेपालबाट करिब ७ सय ७५ जना नेपाली हजका लागि साउदी जाँदैछन् । जेठ २ गते पहिलो उडान मार्फत गोरखाका हजयात्री मक्का पुग्ने र असार १५ गते मदिनाबाट नेपाल फर्कने तालिका हज समितिले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology