तनहुँ , १६ चैत । तनहुँको भानु नगरपालिकाले लकडाउन उल्लङ्घन गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न सरकारले लागू गरेको लकडाउन पालनालाई प्रभावकारी बनाउन नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
भानु नगरपालिकाका नगर प्रमुख उदयराज गौलीको अध्यक्षतामा आज सम्पन्न बैठकले लकडाउनका बेलामा चौतारामा बसेर गफ गर्नेलाई रु एक हजार जरिवाना गर्ने निर्णय गरेको छ । त्यस्तै चियापसल, रक्सीपसल खोल्नेलाई रु दुई हजार, क्यारोमबोर्ड खेल्ने र खेलाउनेलाई रु तीन हजार, जुवातास खेल्नेलाई रु पाँच हजार र खेलाउनेलाई रु दश हजार जरिवाना गर्ने निर्णय भएको छ ।
साथै अत्यावश्यक खाद्यान्न पसल नखोल्ने र कृत्रिम अभाव सिर्जना गर्न खोज्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय भएको नगरपालिकाका सूचना अधिकारी सुनिल पाण्डेले जानकारी दिनुभयो । बैठकले सबै वडामा सम्भावित क्वारेन्टाइन व्यवस्थापनका लागि स्थान र आवश्यकता पहिचान गरी वडास्तरीय समन्वय समितिले अविलम्ब पठाउने, अतिविपन्न श्रमिक वर्ग एवं चुल्हो नबल्ने परिवारलाई वडा समिति, सुरक्षाकर्मीको पहिचान गरी अविलम्व विवरण नगरपालिकामा पठाउने, बेवारिसेसमेतको विवरण सङ्कलन गरी उद्धार र खानपानको व्यवस्था मिलाउने निर्णय गरेको छ ।