Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

५० जिल्लामा फैलियो डढेलो, खडेरीका कारण नियन्त्रण बाहिर


1.1K
Shares

५० जिल्लामा फैलियो डढेलो, खडेरीका कारण नियन्त्रण बाहिर

काठमाडौं, १४ बैशाख । वन तथा भू–संरक्षण विभागका अनुसार ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उहाँको भनाइ छ ।

“बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्यूठान देखिएको छ”, वन अधिकृत श्रेष्ठले भन्नुभयो, “संरक्षण क्षेत्रअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बढी प्रभावित छन् ।”सातवटा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको विभागले जनाएको छ । वैशाख लागेपछि डढेलोका घटना बढेको वन अधिकृत श्रेष्ठले बताउनुभयो । डढेलोको क्षेत्रफल र वनमा पुगेको क्षति भने आकलन बाहिर छ । आगलागी र डढेलोका घटनामा परी ज्यानै जानेसम्मका घटना भएका छन् ।

विभागका उपमहानिर्देशक दीपक ज्ञवालीले अघिल्लो वर्षको तुलनामा यस वर्ष डढेलोका घटना बढ्ने देखिएको बताउनुभयो ।“मध्य वैशाखलाई डढेलोको उच्च जोखिमको समय मानिन्छ”, उहाँले भन्नुभयो, “गत वर्ष देशभर तीन हजार छ सय आसपास ठाउँमा डढेलो लागेको थियो ।” बर्सेनि औसतमा चार हजार स्थानमा डढेलो लाग्ने गरेको पाइएको उपमहानिर्देशक ज्ञवालीले बताउनुभयो ।

“दई वर्षअघि झण्डै छ हजार स्थानमा डढेलोको प्रकोप देखिएको थियो, अहिले पनि डढेलो फैलँदो क्रममा छ”, उहाँले भन्नुभयो, “वर्षा नभए जेठसम्मै डढेलोको जोखिम रहन्छ ।”वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले फागुनदेखि जेठसम्म डढेलोको प्रकोप रहने बताउनुभयो । डढेलोले वन विनाश मात्रै नभई धनजनको समेत क्षति हुने गरेको उहाँको भनाइ छ ।

“डढेलोको समस्या बिकराल बन्दैछ”, उपसचिव थापाले भन्नुभयो, “लम्बिँदो खडेरीका कारण डढेलो नियन्त्रण बाहिर गइरहेको छ ।” गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उहाँको भनाइ छ ।

वनजङ्गल, भिरपाखा र खरबारीमा हुने अनियन्त्रित आगलागीले वन क्षेत्रमा मात्र नभई नजिककै बस्तीलाई समेत असर पारिरहेको उहाँले बताउनुभयो । मानवीय कारणले नै डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । “करिब ५८ प्रतिशत जानीजानी, २२ प्रतिशत लापर्वाही र २० प्रतिशत डढेलो दुर्घटनावश लाग्ने गरेको विभिन्न अध्ययनले देखाएको छ”, उपसचिव थापाले भन्नुभयो, “पछिल्लो समय वन व्यवस्थापनका क्रियाकलाप घट्दा पनि डढेलोको प्रकोप बढिरहेको देखिन्छ ।”

आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछन् भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यसले अनियन्त्रित भई डढेलोको रूप लिने गरेको उहाँको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताउनुभयो ।

“डढेलोले जैविक विविधतामा ह्रास ल्याउनुका साथै वातावरणीय प्रदूषण निम्त्याउँछ”, उहाँले भन्नुभयो, “डढेलो लाग्दा हुने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका खेलिरहेको हुन्छ ।”डढेलोले माटाको प्राङ्गारिक तत्व नष्ट हुने, वन्यजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तिने गरेको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology