काठमाडौं, १४ बैशाख । भारतको छत्तीसगढ राज्यको राजधानी रायपुर सहरमा सन् २०२० मा कोरोना भाइरसका कारण ज्यान गुमाएका तीन जनाको शवको झण्डै एक हजार दिनपछि अन्तिम संस्कार गरिएको छ ।
रायपुरको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा रहेका तीन शव कंकालमा परिणत भएका थिए । प्रहरी अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा दाबी नगरिएका तीन जनाको शव राखेको समाचार प्रकाशित गरेको थियो ।
समाचारमा ती शव महिला वा पुरूषका हुन् भन्ने खुलाइएको थिएन । उक्त समाचार सार्वजनिक भएपछि अस्पताल व्यवस्थापनको यस विषयमा ध्यानाकर्षण भएको थियो । कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनु बाँकी रहेको खुलेको छ । यसका लागि अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो । तर, अनुमति पाएको थिएन । त्यसपछि यी शवहरू पीपीई किटभित्र राखिएका थिए ।
समाचार बाहिर आएपछि अस्पतालले पीपीई किट खोल्दा त्यसभित्र पर्चामा मृतकको जानकारी लेखिएको थियो । उक्त पर्चाबाट मृत्यु हुनेमा एक महिला र दुई पुरूष रहेको खुलेको छ । यसपछि परिवारका सदस्यहरूलाई सम्पर्क गरी यसबारे जानकारी गराइएको थियो । परिवारको सहमतिपछि बिहीबार तीनै जनाको शवलाई कोरोनासँग सम्बन्धित प्रोटोकल अनुसार स्थानीय शवदाह स्थलमा दाहसंस्कार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।