गोरखा, ५ वैशाख : गोरखा नगरपालिका गोरखाले नगरक्षेत्र भित्रका केही नीजि विद्यालयहरुले पाठ्यक्रम विकास केन्द्रले स्विकृत नै नगरेको पाठ्य पुस्तक प्रयोग ल्याएको गनुासो आएको भन्दै अनुगमनको तयारी गरेको छ ।
नगरपालिकाले सवै विद्यालयहरुलाई अनिवार्य रुपमा स्विकृत पाठ्य पुस्तक तथा पाठ्य सामाग्री प्रयोग गर्न निर्देशन दिएको भएपनि केही नीजि विद्यालयहरुले शिक्षा नियमावली विपरित पाठ्य पुस्तक प्रयोग गरेको गुनासो आएकाले अनुगमनको तयारी थालेको नगरपालिका शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
‘‘नगरपालिकाले नेपाल सरकार पाठ्यक्रम विकास केन्द्रले स्विकृत गरेका पाठ्य पुस्तक मात्रै लागू गर्ने भनेर निर्णय गरिसकेका छौ, उहाँले भन्नुभयो, ‘‘केही विद्यालयहरुले उक्त निर्णय विपरित आफुखुशी पाठ्यपुस्तक प्रयोगमा ल्याएको भन्ने गुनासो हामीलाई पनि आएको छ, हामी अनुगमनको तयारी गरिरहेका छौ ।’’
प्रमुख खड्काले नगरपालिकाले अनुगमनका लागि समिति समेत गठन गरिसकेको जानकारी दिनुभयो । गुनासो आएका विद्यालयहरुका सञ्चालकहरुलाई यस अघि नै टोलिफोन समेत गरेर नगरपालिकाले आवश्यक सचेत गराइसकेको पनि उहाँको भनाई छ । ‘‘गुनासो आएका विद्यालयका सञ्चालकलाई हामीले तपाईहरुले स्विकृत गरेका भन्दाबाहिरको पाठ्य पुस्तक लगाउनु भएका छ भन्ने गुनासो आएको छ, के भएको तुरुन्त सच्याउनु होस् भनेका छौ ।’’ प्रमुख खड्काले भन्नुभयो ।
स्विकृत प्राप्त पाठ्यपुस्तक भन्दाबाहिरको पाठ्य पुस्तक लगाएको पाइए कानुन बमोजिम कारवाही गरिने उहाँले बताउनुभयो । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले स्विृकति प्रदान गरिएका पाठ्य पुस्तक, पाठ्य सामाग्री तथा सिकाई सामाग्री मात्र प्रयोग गर्न गराउन देशभरका सवै स्थानीय तहलाई चैत १६ गते निर्देशन दिइसकेको छ ।
शिक्षा नियमावली २०५९ को परिच्छेद ७ को नियम ३५ वमोजिम विद्यालयहरुले प्रयोग गर्ने पाठ्य थपपाठ्य सामाग्री तथा पाठ्य पुस्तक केन्द्रले अनिवार्य स्विकृत गरेको हुनुपर्ने व्यवस्था छ ।