गोरखा, ४ वैशाख । चैते दसैँ पर्वको अवसरमा गोरखाको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गोरखकाली मन्दिरमा आज दर्शनार्थीहरुको अध्याधिक घुइँचो लागेको छ ।
भक्तजनको अत्याधिक चापका कारण धार्मिकआस्थाको केन्द्रको रुपमा रहेको कालिका मन्दिर तथा गोरखाकाली मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजनहरु घण्टौसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।
‘‘मन्दिरमा भक्तजनहरुलाई व्यवस्थित रुपमा मन्दिरको दर्शन र पूजापाठ गराउनका लागि बाक्लो सुरक्षाकर्मी परिचालन गरी लाइन मिलाएर पालैपालो पूजागर्ने व्यवस्था मिलाइएको छ, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख बिष्णुुप्रसाद पाठकले भन्नुभयो, ‘‘मन्दिरमा आवश्यक अन्य सवै सुरक्षा व्यवस्था मिलाइएको छ ।’’ मन्दिरमा एकैदिन ७ हजार ५ सय भन्दाबढी भक्तजनहरुले दर्शन गर्ने अनुमान गरिएको उहाँको भनाई छ ।

भुकम्पले क्षति पु¥याएको मन्दिर पुनःनिर्माण सम्पन्न भएसंगै गतबर्षभन्दा यसबर्ष चैते दसैँमा दर्शनार्थीहरुको सख्ंया बढेको अनुमान गरिएको छ । मन्दिरमा पूजाआजा र दर्शनका लागि गोरखा सहित काठमाण्डौँ, तनहुँ, चितवन र लम्जुङ लगायतका बिभिन्न जिल्लाबाट भक्तजन गोरखाकाली मन्दिरमा आएको कालिका मन्दिरका मूलपूजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
भक्तजनहरुको बाक्लो उपस्थितीका कारण पूजापाठको व्यवस्था मिलाउन सुरक्षाकर्मीहरुलाई समेत हम्मेहम्मे परेको छ । मन्दिरमा आएकाहरुमध्ये भुकम्पपछि पुनःनिर्माण भएको ऐतिहासिक गोरखा दरवारको अवलोकनका लागि पनि आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरु गोरखाकाली मन्दिर र गोरखा दरबार पुग्ने गरेका छन् ।

मन्दिरको तलदेखि लामो लाइन भएकाले कतिपय भक्तजनहरु पूजा नगरी मन्दिर दर्शन गरेर समेत फर्किएका छन् । भुकम्पले मन्दिरमा क्षति पुगेको तथा कोरोना संक्रमणका कारण केही बर्ष सर्वसाधारणलाई मन्दिर प्रवेशमा रोक लगाइएका कारण लामो समयदेखि भाकल रहेकाहरु पनि यसबर्ष मन्दिरमा आएकाले भक्तजनहरुको घुइँचो बढेको हुनसक्ने अनुमान गरिएको छ ।

चैत्राष्टमी र वडादसैँको कालिका मन्दिरमा विशेष पूजाआज हुने भएकाले भक्तजनहरुको अत्याधिक भिड हुने गर्दछ । कालिका मन्दिरमा बोका, राँगा, कुखुरा लगायतकोक बढी चढाउने परम्परा समेत रहदै आएको छ ।

मन्दिरमा पशुवलीका लागि मात्र आज एकसय ६५ वटा कुपन वितरण भइसकेको प्रमुख पाठकले जानकारी दिनुभयो । कालिका मन्दिरसंंगै रहेको प्रसिद्ध गोरखनाथ मन्दिर नाथ सम्प्रदायका सिद्धयोगीको रुपमा लिइन्छ । गोरखनाथको नित्यपूजाको परम्परा राजा पृथ्वीपति शाहको पालादेखि शुरु भएको मानिन्छ ।