गोरखा, २ वैशाख । उत्तरी गोरखाको नयाँ पर्यटकीय गन्तव्यको रुपमा ‘न्याउली झरना’ विकास हुँदै गएको छ । न्याउली झरना आफैमा मनमोहक र प्राकृतिक सौन्र्दयताले भरिपूर्ण छ । मनास्लु पदमार्गमा जाने जो कोहीले पनि न्याउली झरनामा पुगेर एकपटक अवलोकनसंगै फोटो नखिचाउने त सायदै हुँदैनन् होला ।
धार्चे गाउँपालिका–७ मा पर्ने लापुवेशीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको विचमा अवस्थित न्याउली झरनाप्रतिको आर्कषण पछिल्लो समय स्वदेशी मात्र होइन विदेशी पर्यटकहरुमा पनि उत्तिकै छ ।
बुढीगण्डकी नदीको काँखैमा करिब ५५ मिटर उचाई रहेको न्याउली झरनाको सौन्र्दयताले प्रचुर पर्यटकीय सम्भावनाले भरिपूर्ण धार्चे गाउँपालिकालाई थपलोकप्रिय बनाउदै लगेको छ ।
मनास्लु पदमार्गमा पैदल यात्रा क्रममा होस् सवारी साधन चढेरै गएको अवस्थामा होस् पर्यटकहरु एकपटक न्याउली झरनामा पुगेर तस्विर नखिचाई प्रायः अगाडी कोही बढद्ैनन् । धार्चेको प्रचारसंगै न्याउली झरनाको प्रचारका लागि निर्माण त्यहाँ निर्माण गरिएका फोटो खिच्ने आर्कषक फ्रेमहरुमा पर्यटक टक्क अड्न्छिन्, तस्विर खिचाउछन् रमाउछन्, अनिमात्र गन्तव्यतर्फ अगाडी बढ्छन् ।
‘‘झरनाको फेँदीमा फोटो खिच्नका लागि बनाइएको आर्कषक संरचनाले न्याउली झरना झनै सिंगारिएको रहेछ, झरना नजिकै भेटिनु भएका आन्तरिक पर्यटक गुर्जमान तामाङले भन्नुभयो, ‘‘पछिल्लो समय सामाजिक सञ्जालहरुमा देखिएको न्याउली झरनाको सुन्दर फोटोहरुले मन लोभ्याएपछि सदरमुकामदेखि घुम्न आएको हुँ ।’’
माथिबाट नै फिँजारिएर झरिरहने निश्चल झरनाले पर्यटकहरुलाई त्यत्तिकै अल्मल्याइदिने गरेको छ । ‘‘छेउमा पुगेपछि झरनासंगै आएको पानी फोहोराले शरिर नै भिजाइदेला जस्तो, साच्चै यहाँ आएपछि वेग्लै अनुभूति हुने रहेछ, उहाँले भन्नुभयो, ‘‘यसैको मज्जा लिन पनि एकपटक त आउनै पर्नेरहेछ भन्ने लाग्यो ।’’
गोरखा सदरमुकामबाट आरुघाट, आर्खेत, सोतीबजार हुँदै बुढीगण्डकी नदीको तिरतिरै भएर न्याउली झरना पुग्नसकिन्छ । प्राकृतिक सुन्दरताकै उपहारको रुपमा लिन सकिने यस झरनाले पर्यटकको मनमात्र भुलाईदिदैन मन भित्रका वहलाई पनि बिर्साइदिन्छ भन्दा पनि फरक नपर्ला । दाँयाबाँया अग्ला पहाड, फेदीमा बुढीगण्डकी नदीको कन्चन पानीको वहावसंगै पहाडबाट खसेको न्याउली झरनाको फोहोरा मोवाईल र क्यामरामा कैद गर्न पाउदा छुट्टै आनन्द आउने पर्यटकहरु बताउछन् ।
न्याउली झरनाको चर्चाले आन्तरिक पर्यटकहरु समेत घुम्नका लागि आजभोली दिनुहँजसो त्यहाँपुग्ने गर्दछन् । विशाल पहाड फोरेर निर्माण गरिएको कच्ची सडकमा जीप, मोटरसाइल र बस नै चढेर पनि पुग्न सकिने भएकाले युवायुवतीहरुको रोजाइमा न्याउली झरना पर्ने गरेको छ । ‘‘न्याउली झरना हेर्नकै लागि युवायुवतीहरु समुह–समुहमा मिलेर दिनहुँ आउने जाने गर्दछन्, स्थानीयबासी मानबहादुर गुरुङले भन्नुभयो, ‘‘यसको व्यापक प्रचारप्रसार गर्न धार्चेले प्रसस्त लाभ लिनसक्छ ।’’
न्याउली झरना वरपर थप आर्कषक संरचना निर्माणका लागि गाउँपालिकाले योजना बनाइरहेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । ‘‘अहिले झरनामुनी मोटरेवल पुल निर्माणको काम भइरहेको छ, उहाँले भन्नुभयो, ‘‘उक्तपुल निर्माण सम्पन्न भएपछि झरनासम्म पुग्नका लागि थप आर्कषक संरचना बनाउन डिपिआरको तयारी गरिरहेका छौ ।’’
न्याउली झरनालाई धार्चे गाउँपालिकाले पछिल्लो समय धार्चेको एउटा प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्दै लगेको गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ । यसको प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटनमार्फत समग्र धार्चेको विकास र सम्बृद्धिमा टेवा पुग्ने गाउँपालिकाले विश्वास लिएको उहाँले बताउनुभयो ।
‘‘यो झरनालाई देश तथा विदेशमा चिनाउन अझै सकिएको छैन्, अध्यक्ष गुरुङले भन्नुभयो, ‘‘प्रकृतिले दिएको मनोरम उपहारको प्रचारप्रसार गर्नसके यहाँका स्थानीयबासीको जिविकोपार्जनमा समेत परिवर्तन ल्याउन सकिन्छ ।’’ अध्यक्ष गुरुङले पर्यापर्यटन मार्फत पनि धार्चे गाउँपालिकाको विकास र सम्बृद्धिलाई अगाडी बढाउन सकिने भएकाले स्थानीय सरकारले योजनाबद्ध ढंगले काम सुरु गरेको बताउनुभयो ।