गोरखा, २६ चैत । गोरखामा सवारी दुर्घटना न्युनीकरणका लागि दुर्घटनाको बढी जोखिम रहेका सडक छेउछाउमा सचेनामूलक होर्डिङ बोर्ड राख्ने अभियान सुरु भएको छ ।
ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रका अध्याधिक सडक दुर्घटनाको जोखिम रहेका क्षेत्रको पहिचान गरी सचेतनामूलक बोर्ड राख्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो ।
‘‘अभियान अन्तरगत गोरखा सदरमुकाम क्षेत्रमा दुर्घटनाको जोखिमयुक्त स्थानहरुमा सचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ, उहाँले भन्नुभयो,‘‘आवश्यकताका आधार दुर्घटनाको बढी जोखिम रहेका अन्य स्थानहरुमा पनि सेचतनामूलक बोर्डहरु राखिनेछ ।”
सवारीचालक तथा यात्रुहरु र अन्य सर्वसाधारण नागरिकहरुमा पनि सवारी दुर्घटना न्युनीकरण उपायहरुको बारेमा जानकारी गराउन सके दुर्घटना न्युनीकरण गर्न सकिने उहाँको भनाई छ । ट्राफिक प्रहरीले दुर्घटना बढी हुनसक्ने जोखिमयुक्त सडकको किनारामा सचेतनामूलक बोर्ड राखेको प्रमुख पाठकले बताउनुभयो ।
‘‘दुर्घटना बढी हुने गरेका र बढी हुनसक्ने स्थानदेखि केही टाढाबाट नै देखिने ठाउँमा चालक र सम्बन्धित व्यक्तिहरुले सहजै देख्न सक्नेगरी बोर्डहरु राखिएको हो, उहाँले भन्नुभयो, ‘‘यसबाट जोखिमयुक्त स्थानमा पुग्नु अगावै सर्तक हुनसकोस् र दुर्घटना हुन नपाओस् भन्ने हाम्रो उद्देस्य हो ।”
ट्राफिक सचेतनामूलक तस्विरहरु, जथाभावी र लापरवाही ढंगबाट सवारी चलाउदा हुनसक्ने दुर्घटनाको जोखिम, मादक पदार्थ सेवन गरी सवारी नचलाउन अनुरोध सहितको सचेतनामूलक सन्देशहरु होर्डिङ बोर्डमा उहाँको भनाई छ । त्यस्तै तिव्रगतिमा सवारी नचलाउन, घुम्तीमा जथाभावी ओभरटेक नगर्न र बजारक्षेत्रमा सवारी सुस्त गतिमा सवारी चलाउन आग्रह सहितको सन्देशहरु सचेतनामूलक बोर्डमार्फत प्रवाह गरिएको प्रमुख पाठकले जानकारी दिनुभयो ।
ट्राफिक प्रहरीले बजार क्षेत्रमा चालकहरुलाई गति समिति गर्न सचेतना प्रदान गर्ने गरी बोर्ड राख्ने तयारी गरिरहेको छ । ‘‘बढी सवारीको चाप हुने भएकाले बजार क्षेत्रमा तिव्र गतिमा सवारी चलाउन बढी दुर्घटना हुने गरेको पाइन्छ, प्रमुख पाठकले भन्नुभयो, ‘‘अव त्यसका लागि पनि सचेतना फैलाउनु जरुरी भएकाले हामीले बजार क्षेत्रमा गति सिमित लेखेर बोर्डहरु ठाउँठाउँमा राख्ने तयारी पनि गरिरहेका छौ ।”
ट्राफिक प्रहरीले सुरु गरेको यस प्रकारको सचेतनामूलक अभियानले दुर्घटना न्युनीकरणका लागि मद्दत पुग्ने विश्वास गरिएको प्रमुख पाठकले जानकारी दिनुभयो ।.