गोरखा १५, चैत । गोरखाको धार्चे गाउँपालिका–३ उहियामा कोरोनाको सम्भावित जोखिमबाट बच्न स्थानीयबासीले गाउँको वरिपरि प्रकृति पूजा गरेका छन् । गाउँका सवै स्थानीयबासी मिलेर गाउँ प्रवेश गर्ने सवै नाकामा प्रकृति पुजा गरेर कुखुरा चढाएको वडा अध्यक्ष इन्द्रप्रसाद गुरुङले जानकारी दिनुभयो ।
‘उहिया गाउँ प्रवेश गर्ने सबै बाटोमा कुखुरा काटेर चढाइएको छ’, उहाँले भन्नुभयो, ‘तातोपानीबाट आउने बाटो, खोर्लाबाट आउने बाटो, दोभानबाट आउने बाटो र जगत, दुङ्ला हुदै आउने बाटोमा पुजा गरियो ।’ उहाँका अनुसार धामीझाँक्रीले भाले काटेर, धुप बालेर करिब चार घण्टासम्म प्रकृति पूजा गरेका हुन् ।
पूजाका लागि गाउँका प्रत्येक घरधुरीबाट अक्षता, भेटी र पूजा खर्च उठाइएको थियो । प्राकृतिक देवता खुशी भएभने गाउँमा अनिष्ट नभित्रिने जनविश्वास छ । यसअघि गाउँमा बिभिन्न खालका महामारी आउँदा पनि यसखालको पूजा गरिने गरिएको अध्यक्ष गुरुङको भनार्ई छ । उहियाँ गाउँमा अधिकास बिपतका बेला प्रकृति पुजा गर्ने प्रचलन रहेको छ ।