गोरखा, २० चैत । जिल्ला कारागार गोरखामा रहेका थुनुवा तथा कैदीबन्दीहरुमा सकारात्मक सोचको विकासका साथै खुशी हुन सिकाउनका लागि तीनदिने प्रवचन सहितको प्रशिक्षण दिइएको छ । ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय गोरखाको आयोजना तथा जिल्ला प्रहरी कार्यलय गोरखाको समन्वयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी नायव उपरीक्षक डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘‘कैदीबन्दीहरुमा विगतमा गरेका गल्ती कमजोरीको महसुस गराउदै आफुलाई सुधार गर्दै लैजाने र जटिल परिस्थतीमा पनि खुशी हुन सक्ने क्षमताको विकासका लागि कार्यक्रमको आयोजना गरिएको हो, उहाँले भन्नुभयो, ‘‘यस कार्यक्रमबाट उनिहरुमा सकारात्मक सोचको विकास गर्न मद्दत पुगेको छ ।’’
प्रशिक्षण कार्यक्रममा कैदीबन्दी र थुनुवाहरुलाई सामाजिक व्यवहार सुधारका लागि मात्र नभएर मानसिक र शारीरिक स्वास्थ्य, सकारात्मक सोच एवंम आत्मिक शान्तिमा ध्यान केन्द्रीत गराउनका लागि पनि आध्यात्मिक प्रवचन दिइएको ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय गोरखाकी सञ्चालक समेत रहनु भएकी प्रशिक्षक पवित्रा आचार्यले जानकारी दिनुभयो ।
‘‘लामो समयसम्म एकै ठाउँमा रहदा उनिहरुमा तनाव, नैराश्यता उत्पन्न हुने, रिस आवेग र प्रतिसोध बढ्दा अपराधिक सोचको विकास हुनसक्ने भएको मनमा उव्जने गलत मनोभावनालाई परास्त गर्दै सकारात्मक सोचको विकास गराउनु आवश्यक छ, उहाँले भन्नुभयो, ‘‘त्यसका लागि यस्ता खालका आत्मिक प्रवचन तथा प्रशिक्षणहरु महत्वपूर्ण हुन्छ ।’’
प्रशिक्षक आर्चायले कैदसजाय भुक्तानी गरेर फर्किएपछि उनिहरुले समाजमा आफूलाई असल व्यक्तिको रुपमा कसरी पुनःस्थापित गराउनु सक्नुपर्छ भन्ने बिषयमा समेत कैदीबन्दी तथा थुनुवाहरुलाई प्रशिक्षण दिइएको बताउनुभयो ।
‘‘कुनै गल्ती वा कमिकमजोरीका कारण कारागारमा सजाय भोगिरहेका बेला उनिहरुलाई खुशी कसरी रहने भन्ने बारेमा सचेतना यस्ता कार्यक्रम अत्यन्त लाभदायी हुन्छ, उहाँले भन्नुभयो, ‘‘मानिसले हरेक जटिल परिस्थितीमा पनि राजयोगको साधना गर्न सके खुशी हुन र मनमा शान्ति मिल्ने भएकाले पनि कार्यक्रम मार्फत साधना गर्ने विधिका समेतको प्रशिक्षण दिइएको हो ।’’
कार्यक्रममा कारागारमा रहेका १८ जना महिला र एकसय १२ पुरुष गरी कुल १ सय ३० जना कैदी र थुनुवाबन्दीहरू सहभागी भएका थिए । शुक्रवारदेखि सुरु भएको तालिम आज सम्पन्न भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जनाएको छ ।