गोरखा, ५ चैत । प्रेस सेन्टर नेपाल जापान शाखाको टोकियोमा सम्पन्न भएको प्रथम अधिवेशनले सन्दिप सुनारको अध्यक्षतामा १५ सदस्सीय नयाँ कार्यसमिति गठन भएको छ । आइतवार सम्पन्न भएको अधिवेशनबाट समितिको उपाध्यक्षमा उत्तम पण्डित र कान्ता गिरी, सचिवमा बिनोद ढकाल, कोषाध्यक्षमा बिमन किराँती, सहसचिवमा कुमारी बुढा मगर चयन हुनुभएको हो ।
त्यस्तै कार्यसमितिको सदस्यहरुमा सुबिन न्यौपाने, मनिष खनाल, मुकेश पनेरु, अशोक दवाडी, सञ्जय देवकोटा, कृष्ण गुरुङ, अमर लामा, अरुण राई, र अनुपम खड्कालाई चयन गरेको हो । अधिवेशनको जापानका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
अघिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राजदुत डा. सुवेदीले पत्रकारहरुले सधै रचनात्मक र सकारात्मक समाचार सम्प्रेषणमा कलम चलाउनुपर्नेमा जोडदिनुभयो । उहाँले विदेशमा रहेर सञ्चार क्षेत्रमा क्रियाशिल पत्रकारहरु घरदेश र परदेशबीचको पुल बन्न सक्नुपर्ने बताउनुभयो । अघिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटाले प्रेस सेन्टर नेपाल वैचारिक चिन्तनका हिसाबले कुनै दलविशेषसंग निकट भएता पनि पत्रकारिताको धर्मबाट कुनै पनि पत्रकारहरु विचलित हुन नहुने बताउनुभयो ।
उद्घाटन कार्यक्रममा प्रेस सेन्टर नेपाल प्रवास प्रदेश समितिका उपाध्यक्ष तिलक मल्ल, पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहारी, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, प्रवास समन्वय समितिका सदस्यद्वय डा. भूपालमान श्रेष्ठ र भवानी पन्त, एनआरएनए जापानका उपाध्यक्ष सुभाष लामिछाने, गल्कोट समाजकी अध्यक्ष कालिका थापा, नेपाली ब्यवसायी संघ जापानका सचिव बाबुराम पौडेल, नेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरी पाण्डे लगायतको सहभागिता रहेको थियो ।