Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा प्रहरीले चलायो ‘अप्रेशन ब्राभो चार्ली’ : मोटरसाईकल चोरी गर्ने ११ जना पक्राउ


2.1K
Shares

गोरखामा प्रहरीले चलायो ‘अप्रेशन ब्राभो चार्ली’ : मोटरसाईकल चोरी गर्ने ११ जना पक्राउ

गोरखा, २ चैत । गोरखा प्रहरीले चलाएको ‘अप्रेशन ब्राभो चार्ली’ सञ्चालन १० दिनमा चोरीका ११ थान मोटरसाइकल सहित ११ जनालाई पक्राउ गर्न सफल भएको छ । बरामद मोटरसाइकल र चोरी आरोपका ब्यक्तिहरुलाई आज प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठकले मोटरसाइकल चोरीको बारेमा ब्यापक जनगुनासो आएपछी अप्रेशन चलाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यो अप्रेशन निरन्तर चली रहने बताउनुभयो । फागुनको दोस्रो साता कार्यभार सम्हालेका प्रहरी उपरिक्षक पाठकले जहाँबाट पनि चोरीको घटनाको बारेमा चासो ब्यक्त भएका कारण आफ्ना सहकर्मीहरु संग बसेर छलफल गरेर अप्रेशन चलाएको उनले पत्रकार सम्मेलनमा बताउनुभयो । अप्रेशनमा मातहतको आरुघाट ईलाका प्रहरी कार्यालय र आरुपोखरीको प्रहरी चौकीको सक्रियतामा चोरी भएका ९ थान मोटरसाइकल र ११ जना पक्राउ परेका थिए ।

बरामद मोटरसाइकहरु सबै बजाज कम्पनीका पल्सर मोटरसाइकलहरु रहेका छन् । आज सार्वजनिक गरिएको मोटरसाइकल मध्ये गोरखाबाट चोरी भएको ४ थान, धादिङबाट चोरी भएको ५ थान र ट्राफिक प्रहरीको चेकिङका क्रममा मोटरसाइकल छाडेर भागेका २ थान रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । गोरखा प्रहरीले पहिलो पटक जिल्लाको बारपाक सुलिकोट गाउपालिका–७ देउराली स्थितबाट लक्ष्मण गुरुङको चोरी भएको प्रदेश नम्बर ३–०२–००१ प ४६०१ नं. को २२० सिसिको पल्सर मोटरसाईकलको घटनाको अनुसन्धान सुरु गरेको थियो ।

सोही क्रममा चोरी भएको मोटरसाईकल सहित फागनु २७ गते आरुघाट गाउपालिका–३ थुमी, निबोट बस्ने २६ बर्ष को सुकबहादुर गुरुङ, बर्ष १९ का सुजन कार्की, आरुघाट गाउँपालिका–६ आरुआरबाङ कल्लेरी बस्ने बर्ष ३१ को रामकुमार श्रेष्ठ, आरुघााट गाउँपालिका–४ थुमी बराम गाउँ बस्ने बर्ष २८ को रोनिस भन्ने पदमबहादुर बराम र बारा जिल्ला गढीमाई नगरपालिका–११ घर भई आरुघाट गाउँपालिका–३ आर्खेत स्थित वि आर बर्दश नाम गरेको वर्कशपमा काम गर्ने बर्ष २४ को श्री शंकर शाह सोनार गरी ५ जना लाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ५ जनालाई २९ गते नै चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा मोटरसाईकल चोरीमा संलग्न रहेका आरुघाट गाउँपाकिाल–३ निबोट बस्ने बर्ष १९ को सन्तोष गुरुङ, बर्ष २० को सोमे भन्ने उत्तम गुरुङ, बर्ष १९ को देउवा गुरुङ, आरुघाट गाउँपालिका–२ मान्बु बस्ने बर्ष २४ को अन्जन घले, आरुघाट गाउँपालिका–३ थुमी बस्ने बर्ष ३१ को टेकबहादुर आले र बर्ष १९ को कमल आले मगर गरी थप ६ जनालाई फागुन ३० गते पक्राउ गरी निजहरु विरुद्ध चैत्र १ गते चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरी चोरी घटनाको अनुसन्धान भई रहेको सुचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त समूहले २२० सिसिको पल्सर मोटरसाईकललाई बिशेष टार्गेट बनाई चोरी गर्ने गरेको र चोरीको मोटरसाईकलहरु गोरखाको उत्तरी दुर्गम भेगमा प्रयोग गर्ने र चोरीको मोटरसाईकलहरुको नयाँ पार्ट पुर्जाहरु पुरानो मोटरसाईकलमा फिट गर्ने गरेको खुल्न आएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पक्राउ परेकाहरु पेशाले होटलमा काम गर्ने कुक, पोर्टर, गाईड र मित्री रहेको पनि सूचना अधिकारी श्रेष्ठले बताए । चोरीमा संग्लन मध्ये केही मानिस मनाङ पुगेकोले त्यहाँ पनि खोजी भईरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पक्राउ परेका मध्ये ३ जनालाई भने उत्तरी गोरखाको सामागाउँबाट पक्राउ गरी ल्याएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology