Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कांग्रेस र एमाले मिल्नुस्, प्रचण्ड डराउँदैन


1.6K
Shares

कांग्रेस र एमाले मिल्नुस्, प्रचण्ड डराउँदैन

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले सके मिल्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विश्वासको मतको प्रस्तावमाथि दलगत रूपमा सांसदहरूले धारणा राखेपछि जवाफ दिँदै प्रधानमन्त्री दाहालले ठूला दल मिल्न आग्रह गरेका हुन् ।

‘ठूला दलहरू हामी मिल्यौं भने तेरो हालत के हुन्छ ? यसो भनेर पहिला पनि भनियो। आज पनि भनियो। मेरो कामना छ तपाईंहरू मिल्नुस्। सबै मिल्नुस् । तपाईंहरू सबै मिल्नुभयो भने माओवादी केन्द्र प्रमुख प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा, संविधान रक्षा र राष्ट्रियताका पक्षमा लडिरहन्छ। तपाईंहरूलाई लागेको छ प्रचण्ड डराउँछ त्यसो भनेर ? ,’ प्रधानमन्त्री दाहालले प्रश्न गर्नुभयो । विगतमा सबै मिलेर टाउको काट्न खोजेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो ।

‘डराउँछ माओवादी केन्द्र भन्ने ठान्नु भएको छ ? त्यस्तो हुँदैन। सक्नुहुन्छ मिल्नुस्,’ उहाँले भन्नुभयो, ‘तर को राजनीतिक दल कतिबेला कोसँग मिल्छ भन्ने कुरा हरेक राजनीतिक दल स्वतन्त्र छन्, आफ्नो हिसाबकिताब राख्न। राजनीतिक रूपले आफूलाई हित हुन्छ भन्ने लाग्यो भने मिल्ने हो ।’

उनले कांग्रेसप्रति लक्षित गर्दै प्रश्न उठेकाहरूलाई प्रधानमन्त्री बनाउन लागेको पनि आरोप लगाए। प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बोली फुकाउन पनि आग्रह गर्नुभयो ।

‘यहाँ केपी ओलीजीले बोल्दै गर्दा बोली नचल्ने भाषा प्रयोग गर्नुभयो। एउटा मर्मको साथ प्रयोग गरेको बुझेँ मैले,’ दाहालले भन्नभयो ‘शेरबहादुर देउवाले अब बोल्ने हो भन्नुभयो। बोल्नुस् । म भन्छु बोली फुकाउनुस्। बनाउनुस् सहकार्य। माओवादी केन्द्र, प्रचण्ड वा प्रधानमन्त्री त्यसबाट दबाबमा पर्छ भन्ने भ्रम नराख्नुस्। राजनीतिक दल स्वतन्त्र छन् ।’

उहाँले राजनीतिक कारण नयाँ गठबन्धन बनेको पनि बताउनुभयो । ‘धोका, बेइमानी र षड्यन्त्र यस्ता केही पनि शब्द प्रयोग गरेको थिइनँ, अघिल्लो गठबन्धनका नेताहरूलाई धन्यवाद दिएको थिएँ,’ उहाँले भन्नुभयो, ‘राष्ट्रको बृहत्तर हित, संविधान रक्षा र जनताको विकास आकांक्षालाई सम्बोधन गर्न मलाई यतिबेला यसरी सजिलो पर्छ भन्ने लाग्यो, मैले स्वतन्त्रतापूर्वक निर्णय गरेँ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology