काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता ठाकुरमोहन श्रेष्ठमाथि हातपात भएको घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी भएका श्रेष्ठमाथि एक समूहले कुटपिट गरेका थिए ।
त्यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।
श्रेष्ठले प्रहरीमा ठाडो निवेदन दिएपछि प्रहरीले अनुसन्धान थालेको एसपी अधिकारीले बताउनुभयो । कार्यसम्पादन समिति बैठकमा श्रेष्ठले भ्रष्टाचारका विषयमा कुरा राखेका थिए। त्यस विषयमा नेता विक्रम पाण्डेसँग विवाद समेत भएको थियो । ‘भ्रष्टाचारका विषयमा ठूला कुरा नगरे हुन्छ,ु भनेर पाण्डेलाई श्रेष्ठले भनेको एक कार्यसम्पादन समिति सदस्यले बताएका थिए ।
बैठकपछि पाण्डेनिकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको छ । यस विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि आपराधिक घटना भएको बताउँदै यसमा अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गर्ने प्रतिक्रिया दिएका थिए ।