Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

प्रधानमन्त्री प्रचण्डले खुलाए कांग्रेससँग सहकार्य तोड्नुका ६ कारण


1.9K
Shares

प्रधानमन्त्री प्रचण्डले खुलाए कांग्रेससँग सहकार्य तोड्नुका ६ कारण

काठमाडौ, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग सहकार्य तोड्नुपर्नाका कारण खुलाएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले केही आशंका पैदा भएपछि नयाँ राजनीतिक परिस्थिति सिर्जना गरिएको उल्लेख गर्नुभएको छ ।

गत सोमबार प्रधानमन्त्री दाहालले कांग्रेससँग गठबन्धन तोडेर नेकपा ९एमाले०, रास्वपा र जसपासहित नयाँ समीकरण बनाएका थिए । कांग्रेसले प्रधानमन्त्री दाहालको उक्त कदमलाई धोका र दाहालबाट राजनीतिक बेइमानी भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री दाहालले कांग्रेसले समर्थन फिर्ता लिएकोले फेरि विश्वासको मत लिइने पनि बताउनुभयो ।
१. व्यक्तिका रूपमा मलाई समस्था थिएन, राजनीतिक परिणाम निर्णायक भयो, प्रधानमन्त्री दाहालले व्यक्तिका रूपमा कांग्रेससँगको अघिल्लो गठबन्धनमा आफूलाई समस्या नरहेको पनि बताउनुभयो ।

‘अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’का रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो,’ उहाँले भन्नभयो, ‘कांगेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन ।’
११ महिना कांग्रेससँग सहकार्य भएकोमा उनले सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिनुभयो।

‘अहिले पनि हाम्रो निजी सम्बन्धमा कम्तिमा मेरा तर्फबाट उत्ति नै सद्भाव छ। तर राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुँदा रहेछन्, अघिल्लो गठबन्धनमा पनि त्यही भयो,’ प्रधानमन्त्री दाहालले भन्नभयो ।

२. चुनावमा माओवादीले कांग्रेसको सहयोग पाएन

प्रधानमन्त्री दाहालले चुनावमा कांग्रेसलाई माओवादीले जुन तहको सहयोग गर्‍यो सोही तहमा कांग्रेसबाट सहयोग नपाइएको बताउनुभयो । ‘निर्वाचनमा नेकपा माओवादी केन्द्रले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो,’ उहाँले भन्नभयो, ‘निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो।’

कांग्रेसले गत माघ ११ मा भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्न भूमिका खेलेको उनको आरोप छ ।

साथै कांग्रेस नेता शेखर कोइरालानिकट सांसद केदार कार्कीले एमालेको समर्थनमा कोशीमा मुख्यमन्त्री बनेको विषयलाई पनि प्रधानमन्त्री दाहालले दण्डित हुनुपर्ने विषय भनेका छन् ।

‘कोशीमा कांग्रेसको एउटा समूहले विद्रोह नै गर्‍यो। गठबन्धनको नैतिकताको कसीमा त्यो “विद्रोह” दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत। राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्‍यो,’ प्रधानमन्त्री दाहालले भन्नभयो ।

३. महासमितिमा कांग्रेसले धर्मका नाममा हस्ताक्षर चलायो

प्रधानमन्त्री दाहालले फागुन ७ देखि १० गतेसम्म ललितपुरमा भएको कांग्रेस महासमिति बैठकका प्रस्तावमा समावेश कतिपय कुरामा पनि आपत्ति जनाउनुभयो ।

‘महासमिति बैठकमा बिना सन्दर्भ त्यही गठबन्धनको निन्दा सुरू भयो, जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो। निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन,’ महामन्त्री गगन थापाले पेश गरेको सांगठनिक प्रस्तावलाई लक्षित गर्दै प्रधानमन्त्री दाहालले भन्नभयो ।

४.महासमितिमा धर्मका नाममा चलाएको हस्ताक्षरले संविधान प्रतिबद्धतामा आशंका

प्रधानमन्त्री दाहालले कांग्रेस महासमिति बैठक स्थलअगाडि धर्मका नाममा स्टल राखेर हस्ताक्षर चलाएकोमा पनि असन्तुष्टि जनाएका छन् ।

केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा हिन्दु राष्ट्र अभियानका लागि ४१ केन्द्रीय सदस्यसहित एक हजार ६३ जना महासमिति सदस्यले हस्ताक्षर गरेका थिए ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्‍यो,’ उहाँले भन्नभयो ।

५ .जनयुद्धुलाई दानवीकरण गरियो

प्रधानमन्त्री दाहालले कांग्रेस महासमितिमा पेश भएको प्रस्तावमा ुजनयुद्धु को न्यूनीकरण र दानवीकरण गरिएको पनि बताउनुभयो ।

उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गर्दा ुजनयुद्धु का प्रसंग उल्लेख गरेका थिए ।

‘महासमितिमा पेश गरिएको प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरिएको र ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो,’ उहाँले भन्नभयो, ‘यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो।’

६. साथीहरूले प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन

प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीका रूपमा आफूलाई न्याय नगरिएको गुनासो गरेका छन् । ‘साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीब्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन,’ कांग्रेसप्रति लक्षित गर्दै उहाँले भन्नभयो ।

उहाँले औसत उपलब्धिहरूको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा आफू नरहेको पनि बताउनुभयो ।

‘एक वर्ष कार्यकाल पूरा भएपछिको सम्बोधनमा त मैले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको थिएँ। मेरो यो तहको प्रतिवद्धतामा गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ,’ उहाँले भन्नभयो ।

उहाँले औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने भन्नेमा दोस्रो विकल्प रोजेको बताउनुभयो।

‘त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्। अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ। कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ। आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिबद्ध छु,’ उहाँले भन्नभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology