गोरखा, २१ फागुन । गोरखाको शहीद लखन गाउँपालिकामा महिलाहरुको अगुवाईमा कृषि तथा गैह्रकृषि क्षेत्रमा जिविकोपार्जनका अवसर चुनौती र सरोकारवालाहरुको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम आइतवार सम्पन्न भएको छ । नेपाल दलित महिला उत्थानसंघ (एड्वान) को अयाोजनामा पालिका भित्रका जनप्रतिनिधिहरु, विभिन्न वडामा रहेका कृषक महिला समुहका प्रतिनिधिहरु लगायतको सहभागितामा कार्यक्रम सम्पन्न हो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले समुह मार्फत मिलेर कृषि व्यवसाय गर्न सके उत्पादनमा बृद्धि गर्न सकिने र राम्रो आयआर्जन गर्न सकिने बताउनुभयो । उहाँले सामुहिकतामा विश्वास गरेर अघि बढ्न कृषक समुहका प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । ‘‘कुन वडा कुन खालको कृषि खेती गर्ने र कुन वडामा कस्ता खालका पशुपालन गर्ने भन्ने सम्बन्धमा पालिका कृषि तथा पशुशाखा मार्फत क्षेत्र निर्धारण गरेका छौ, उहाँले भन्नुभयो,‘‘पालिकाले नीतिगत निर्णय नै गरेर कृषि तथा पशुपालनका लागि योजना बनाएर काम गरिरहेको छ ।’’
अध्यक्ष थापामगरले निर्धारण गरेर काम गरेका ठाउँहरुमा समेत पनि पालिकाले बजेट बिनियोजना गर्दासम्म मात्र काम हुने र बजेट बिनियोजना गर्न छोड्दा काम नहुने अवस्था आएको भन्दै माग्ने बानीको अन्त्य गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले परम्परागत खेती प्रणालीलाई व्यवसायिक बनाउदै लैजानुपर्ने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल दलित महिला उत्थान संघ (एडवान) की अध्यक्ष विन्दु थापा परियारले एडवान्ले महिलाहरुको उत्थानका लागि परियोजना मार्फत सञ्चालन गरेका कार्यक्रमहरु तत्कालिन भन्दापनि दीर्धकालिन रुपमा लाभ लिनसक्ने खालका रहेको बताउनुभयो । एडवानले सञ्चालन गर्दै आएको कार्यक्रमलाई महिलाहरुले आफ्नो परिवारको कार्यक्रम जस्तो अनुभूति गरी सहभागिता जनाउने गरेको भन्दै उहाँले खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा एड्वानका कार्यकारी निर्देशक कमलबाबु परियारले परियोजना मार्फत शहीद लखन गाउँपालिका भित्रका सिमान्तकृत तथा विपन्न महिला किशोरीहरुलाई सिप विकास गराई उत्थानशिल जिविकोपार्जन निर्माण गर्दै साना तथा मध्यम खालको उद्यमशिल बनाउन कार्यक्रम सञ्चाललन गरिरहेको बताउनुभयो । उहाँले सोही उद्देस्य अनुसार शहीद लखन गाउँपालिकाका भित्रका १२ वटा समुहमा गरी २ सय ४२ जना महिला आवद्ध भएर सिप विकास सम्बन्धी तालिम लिएर सफलता व्यवसाय गरीरहेको समेत जानकारी दिनुभयो ।
परियोजनाले रुपान्तरणकारी सामाजिक परिचालन कार्यक्रम समेत सञ्चालन गरी महिलाहरुको क्षमता विकास तथा नेतृत्व विकासका काम समेत गर्दै आएको परियारले बताउनुभयो । परियोजना अन्तरगत गाउँपालिका भित्रका बिभिन्न कोसिस कृषक महिला समुहमा आवद्ध महिलाहरुले बाख्रा पालन, बङगुर पालन, कुखुरा पालन, तरकारी खेती, फलफुल खेती, स्यानेटरी प्याड उत्पादन लगायतका तालिम लिएर उद्यम सुरु गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बाबुराम मगर, बिभिन्न वडाका वडाध्यक्षहरु, गाउँकार्यपालिकाका सदस्यहरु, ९ वटै वडामा रहेका महिला कृषक समुहका प्रतिनिधिहरु, गाउँपालिकाका बिभिन्न शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको परियोजनाका फिल्ड संयोजक कमल बसेलले जानकारी दिनुभयो ।