Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

दिवाखाजामा ‘जंक फुड’ खुवाएपछि गोरखा नगरपालिकाका सामुदायिक विद्यालयका खाजाघर बन्द


2.3K
Shares

दिवाखाजामा ‘जंक फुड’ खुवाएपछि गोरखा नगरपालिकाका सामुदायिक विद्यालयका खाजाघर बन्द

गोरखा, २६ माघ । सामुदायिक विद्यालय भित्र रहेका खाजाघरहरुले बालबालिकालाई दिवाखाजामा ‘जंक फुड’ खुवाइएको पाइएपछि गोरखा नगरपालिकाले सवै विद्यालयमा रहेका खाजाघरहरु बन्द गर्ने निर्णय गरेको छ ।

नगरक्षेत्र भित्रका सामुदायिक विद्यालयमा रहेका खाजाघरहरुले दिवाखाजा कार्यक्रम अन्र्तगत बालबालिकाहरुलाई चाउचाउ, बिस्कुट, मःम, चाउमिन, चकलेट लगायतका ‘जंक फुड’ युक्त खाजा खुवाउने गरेको भेटिएपछि खाजाघर बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

‘‘विद्यालयहरुमा सञ्चालित दिवाखाजा कार्यक्रममा बालबालिकाहरुलाई स्थानीय स्तरमा उत्पादित स्वस्थ्यकर खानेकुरा खुवाउनुपर्ने व्यवस्था छ, उहाँले भन्नुभयो, ‘‘तर हाम्रा विद्यालयहरुमा कार्यविधि विपरीत क्यान्टिनले दिवाखाजामा ‘जंक फुड’ खुवाउने गरेको पाइएपछि सवै क्यान्टिनहरु बन्द गर्न निर्देशन दिएका छौ ।’’

नगरप्रमुख रानामगरले नगरक्षेत्रका सवै विद्यालयहरुले अवदेखि दिवाखाजामा लागि अनिवार्य रुपमा स्वस्थ्यकर खाजा बनाएर खुवाउनुपर्ने बताउनुभयो । नगरपालिकाका सवै सामुदायिक विद्यालयका प्रधानध्यापक तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरुलाई बोलाएर तत्काल खाजाघर बन्द गरी विद्यालयमा खाजा व्यवस्थापन सहयोगी मार्फत स्वस्थ्यकर खानेकुरा खुवाउने निर्णय सहितको निर्देशन गरिएकोे नगरप्रमुख रानामगरले जानकारी दिनुभयो । खाजाघरहरुले दिवाखाजामा सजिलो र छिटोछरितोका लागि भन्दै मापदण्ड विपरीत बालबालिकाहरुलाई ‘जंक फुड’ खुवाउने गरेका थिए ।

‘‘दिवाखाजामा स्थानीयस्तरमा उत्पादिन हुने फलफुल, धान, मकै, गहुँ, अण्डा, सागसब्जी, तरकारी आलु, केरा चना आदिबाट बनेका खानेकुरा विद्यालयले बनाएर खुवाउनुपर्छ, उहाँले भन्नुभयो, ‘‘बालबालिकाहरुलाई ‘जंक फुड’ खुवाइएको पाइए कारवाही हुन्छ, हामीले त्यसै अनुसार विद्यालयहरुलाई निर्देशन समेत दिइसकेका छौ ।’’ गोरखा नगरपालिका भित्रका सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रमका लागि कलसोभरीज नामक संस्थाले आर्थिक सहयोग गर्दै आइरहेको छ ।

संस्थाले गरेको अनुगमनका क्रममा पनि बालबालिकालाई विद्यालयमा रहेको खाजाघरहरुले ‘जंक फुड’ नै खुवाउने गरेको भन्दै नगरपालिकालाई सचेत गराउदै आएको थियो । ‘‘कलसोभरीजले प्रति विद्यार्थी रु २० आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ, नगरप्रमुख रानामगरले भन्नुभयो, ‘‘विद्यालयमा जंक फुड’ को प्रयोग रोक्न संस्थाले पनि आग्रह गर्दै आएको थियो, सवै सामुदायिक विद्यालयहरुले अवदेखि अनिवार्य स्वस्थ्यकर खाजा बनाएर खुवाउनुपर्छ ।’’

दिवाखाजा कार्यक्रमका लागि नगरपालिकाले प्रति विधार्थी रु ५ र विद्यालयले प्रति विद्यार्थी रु ५ थप गरेर विद्यार्थीहरुलाई दिवाखाजा खुवाउदै आएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ नै सार्वजनिक गरेर विद्यार्थीहरुलाई दिवाखाजामा ‘जंक फुड’ खुवाउन निषेध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology