गोरखा, २५ माघ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा गाउँमै मोतिविन्दुको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर ४ स्थित सौरपानीमा मोतिविन्दुका बिरामीको आँखाको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
बारपाक सुलिकोट गाउँपालिका र सौरपानी समाज काठमाण्डौको संयुक्त आयोजनामा भएको मोतिविन्दुको शल्यक्रिया सहितको निःशुल्क आँखा उपचार शिविरमा ४४ जनाको मोतिविन्दुको शल्यक्रिया भएको उहाँले बताउनुभयो । गाउँमै मोतिविन्दुको शल्यक्रिया भएपछि बिरामीहरु खुशी भएका थिए ।
गोरखा जिल्लामा मोतिविन्दुको बिरामीहरुले शल्यक्रियाका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता रहदै आएको छ । नेपाल नेत्रज्योति संघ र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा भएको शिविर सम्पन्न भएको हो । शिविरमा १९ जना पुरुष र २५ जना महिलाको मोतिविन्दुको शल्यक्रिया गराएका थिए ।
त्यस्तै २ सय ६३ जना पुरुष र ३ सय ५३ जना महिला गरी कुल ६१६ जनाले निःशुल्क ओपिडी सेवा समेत लिएका उहाँले बताउनुभयो । त्यस्तै शिविरमा ३ सय ५८ जनालाई निःशुल्क चस्मा वितरण गर्नुका साथै ४ सय ५० जनालाई आवश्यक औषधी पनि वितरण गरिएको आयोजकले जनाएको छ ।