गोरखा, २३ माघ । पालुङटार नगरपालिकाका नगरप्रमुख विवस चिन्तनले समाचारको सत्य समाचार मात्र प्रेसित गर्न सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपालको गोरखा शाखाले २६ औं स्थापना दिवसको अवसरमा पालुङटारमा आयोजना गरेको “ स्थानीय सरकार र मिडिया बिषयमा अन्तरक्रिया कार्यक्रम’’ बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
नगरप्रमुख चिन्तनले जनप्रतिनिधि र मिडियाकर्मीहरु एक जुट हुनुपर्नेमा समेत जोडदिनुभयो । कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाकी उपप्रमख बन्दना पाण्डेले पालुङटार नगरपालिका स्थानीय मिडियाहरुलाई कसरी ब्यबस्थापन गर्ने सकिन्छ भन्नेमा सधै गम्भीर रहेको बताउनुभयो ।
उहाँले पत्रकारहरुले समाचार प्रकाशन र प्रशारण गर्दा नकारात्मक बिषयहरुलाई भन्दा सकारात्मक बिषयलाई ज्यादा ध्यान दिन मिडियाकर्मीहरुलाई सुझाब दिनुभयो । अहिलेको समाजले सकारात्मक समाचारलाई भन्दा नकारात्मक समाचारलाई ध्यान दिने भएकोले अव नकारात्मकलाई चिरेर सबै पत्रकारहरु सही दिशामा हिड्न आग्रह समेत उहाँले गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल जिल्ला शाखाका अध्यक्ष सुजन न्यौपाने अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पालुङटार नगरपालिका प्रमुख प्रशासकिय प्रमुख गौतम भण्डारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य किरण लोहनी, प्रेस सेन्टर नेपाल गोरखा जिल्ला समितिका उपाध्यक्ष राजेश पौडल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।